कोशी ब्यारेज पुलको आयु सकिए पनि मर्मत नहुँदा उच्च जोखिम
by बी एन एन|इनरुवा, २५ असार : सप्तकोसी नदीमा निर्माण भएको कोशी ब्यारेज पुलको आयु सकिएको तीन वर्ष बितिसक्दा पनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । आयु सकिएको पुललाई गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले निकै असर गरे पनि अझै प्राविधिक जाँच र मर्मतमा ध्यान नदिएकोमा स्थानीय आक्रोशितसमेत छन् । सप्तकोसी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले एक दशक लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० वर्ष तोकिएको पुलको आयु सकिएको चार वर्ष पुग्न लाग्यो । कोसी ब्यारेजको रेखदेखसँगै मर्मतसहितका सम्पूर्ण जिम्मेवारी भारत सरकारको भए पनि सीमा क्षेत्रमा भारतले अर्को पुल निर्माण गरिरहेकाले कोशी पुलको मर्मतमा चासो नदिएको आरोप छ । गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले पुल ठूलो आवाजसहित हल्लिएको भन्दै स्थानीयले पुलको भित्र भागसम्म असर गरेको हुनसक्ने अनुमान गरेका छन् । आयु पनि सकिएको र भूकम्पले समेत असर गरेको हुनाले पुलको प्राविधिक जाँच हुनुपर्ने भए पनि हालसम्म नभएको स्थानीय ओमप्रकाश माझीले बताउनुभयो । भारतीय प्राविधिकहरुले कहिलेकाहीं कोसी ब्यारेजको माथिल्लो संरचनामा सामान्य मर्मत गर्ने गरे पनि तल्लो संरचनाको मर्मत हालसम्म गरिएको छैन । भूकम्पपछि कोशी पुलको पिल्लरहरुमा सामान्य चिरा देखिएको छ भने भित्री भागमा पनि समस्या रहेको अनुमान गरिएको छ । तर मर्मत सम्भारमा ध्यान नदिंदा पुल जीर्ण बन्दै गएको छ भने एक हजार एक सय ४९ मिटर लम्बाइ रहेको पुलको तल्लो भागमा वारिदेखि पारिसम्म पीपलका विरुवाहरु उम्रिएका छन् । पीपलको बोट अत्यधिक मजबुत हुने भएकाले त्यसका जराले संरचनामा असर गर्ने जानकारहरु बताउँछन् । पूर्व–पश्चिम राजमार्गको एक मात्र विकल्प कोशी पुलमा कुनै समस्या आए पूर्वपश्चिम यातायात पूर्ण रुपमा अबरुद्ध हुनेछ । सन् १९६४ देखि पूर्ण रुपमा चालु भएको पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाव धान्न सक्ने क्षमता भए पनि पछिल्लो समय नदीको सतहमा बालुका थुप्रिएका तीन लाखभन्दा बढी पानीको बहाव खतरा हुने प्राविधिकहरुले बताएका छन् । तर सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने अहिले डराइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । वि.स. २०६५ साल भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदासमेत पूर्व–पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो ।
Showing posts with label barrage. Show all posts
Showing posts with label barrage. Show all posts
Friday, July 10, 2015
कोशी ब्यारेज पुलको आयु सकिए पनि मर्मत नहुँदा उच्च जोखिम
Subscribe to:
Posts (Atom)





