Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label rolpa. Show all posts
Showing posts with label rolpa. Show all posts

Saturday, July 11, 2015

रोल्पाको थबाङमा शनिबार विहान बम विष्फोट

By : बी एन एन|असार २६|रोल्पाको थबाङमा शनिबार विहान बम विष्फोट भएको छ । थबाङ १ चालबाङस्थित श्रीप्रसाद घर्तीमगरको घरमा वम विष्फोट भएपछि एकैघरमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये घरमुली ५३ वर्षीय श्रीप्रसाद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार थबाङको एकान्त स्थानमा रहेको उक्त गाउँमा रहेको श्रीप्रसादको घरमा शनिबार विहान ७ बजेतिर बमको विष्फोटको ठूलो सुनिएको थियो । स्थानीय एक महिलाका अनुसार दुई तले घरको माथिल्लो तलामा बम पडि्कएको हो । विष्फोटले घर पूर्ण रुपमा ध्वस्त भएको छ । चालबाङमा रहेको विशाल स्याउबारी नजिकै उक्त घर पर्छ । चालबाङ गाउ थबाङको ठूलो गाउँदेखि पूर्वमा पर्छ ।
प्रहरी नायब उपरीक्षक रमेश थापाले घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । भत्किएको घरमा अरु विष्फोटक पदार्थ समेत रहेको आशंकामा प्रहरीले घटनास्थललाई घेरा हालेको छ । प्रहरीका अनुसार कस्तो खालको वम पड्किएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
घटनाबारे जानकारी पाएपछि नेपाली सेनाको रोल्पास्थित देवीदत्त गणबाट सेनाको प्राविधिक टोली थबाङतर्फ गएको छ । गणपति प्रमुख सेनानी विनोद चन्दको कमाण्डमा सेनाको टोली शनिबार स्थलगत बाटोबाट थबाङ हिडेको हो । सदरमुकाम लिबाङसँग सडक यातायातले नजोडिएको थबाङ पुग्न अझै पैदल यात्रा गर्नु पर्ने बाध्यता छ । सेनाको टोली पूर्वी रोल्पाको सुलिचौर-सिर्क्याङ भिर हुदै आइतबारसम्ममा थबाङ पुगेपछि मात्र विष्फोटक पदार्थबारे थप अनुसन्धान गरिनेछ ।
प्रहरीका अनुसार उक्त वम शान्ति प्रक्रियापछि घरमा राखिएको हो वा त्यसअघि नै राखिएको थियो भन्नेबारेमा अनुसन्धान जारी नै छ । 'सेना पुगेपछि सबै कुरा जानकारी हुनेछ,'  प्रनाउ रमेश थापाले भने ।
शान्ति प्रक्रिया सुरु भएपछि पनि रोल्पाका अधिकांश स्थानमा बम, गि्रनेड लगायत हतियार तथा विष्फोटक पदार्थ भेटिदै आएका छन् । पछिल्ला केही वर्षमा विगतमा लामो समय सशस्त्र युद्धको केन्द्र बनेको रोल्पाका गाउमा विष्फोटक पदार्थका कारण स्थानीय त्रसित बन्दै आएका छन् ।