हेल्मेट लगाएर सुझाव संकलन
By:BNN|२०७२ साउन ५ मंगलवार
सिमरा: संविधानको मस्यौदाको सुझाव संकलन गर्न आयोजित कार्यक्रममा मधेसवादी दलका नेता तथा कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि बाराको क्षेत्र नं ४ कि सभासद नेजमा खातुनले हेल्मेट लगाएर जनताको सुझाव लिएकी छिन्।
छातापिपरास्थित बिद्यालयको खुल्ला चौरमा आयोजित कार्यक्रम स्थल बाहिरबाट मधेसबादी दलका नेताकार्यकर्ताले ढुंगा प्रहार गरिरहेपनि प्रहरी सुरक्षा घेराभित्र रहेकी सभासद खातुनले हेल्मेट लगाएर स्थानियको सुझाव लिएकी हुन् ।
बिद्यालय हाताभित्र कार्यक्रम भईरहदा बाहिर जम्मा भएका मधेसबादी दलका नेताकायकर्ताले ढुंगा प्रहार गरेका थिए । कार्यक्रम स्थलमा प्रवेश गर्न आएका उनिहरुलाई प्रहरीले गेटमै रोकेपछि स्थिती तनापूर्ण बनेको थियो । भित्र प्रवेश नपाएपछि आक्रोशित बनेका उनिहरुले प्रहरी र कार्यक्रम स्थलमा ताक्दै ढुंगा बर्षाएका थिए ।
पर्खाल बाहिरबाट ढुंगा ओईरिन थालेपछि कार्यक्रम स्थलमा भागाभाग मच्चिएपनि प्रहरीले स्थिती नियन्त्रणमा लिएको थियो । कार्यक्रम बिथोलिने स्थिती देखेपछि दुई सय भन्दा बढीको संख्यामा खटिएका सुरक्षाकर्मीले बल प्रयोग गर्दै बाहिरको भिड लखेटदै टाढा पुर्याएको थियो ।
प्रहरीले बल प्रयोग गर्दा केही बेर दोहोरो झडप भएपनि ठुलो रुप लिन पाएन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दोहोरो झडपमा मधेसबादी दलका छ जना कार्यकर्ता सामान्य घाईते भएका छन् । घाईते मध्ये दुई जनालाई वीरगन्ज लगिएको छ ।
मधेसबादी दलका नेताकार्यकर्ताले सभासद खातुनले चढेको गाडीको सिसा फुटाएका छन् । कार्यक्रम स्थलबाहिर पार्किङ गरेर राखिएको बा३च ७४२४ नम्बरको टाटा सुमोको अगाडीको सिसामा उनिहरुले ढुंगा प्रहार गरेका थिए ।
कार्यक्रम बिथोल्न तराई मधेस लोकतान्त्रिक पार्टिका नेता एव्म पूर्वसभासद् जितेन्द्र सोनल, सद्भावना पार्टिका केन्द्रीय सदस्य गणेशप्रसाद साहसहित मधेसी जनअधिकार फोरम नेपाल, नेकपा माओबादी बैद्य समुह, नेकपा माओबादी मातृका समुह, राप्रपा नेपाललगायतका पार्टिका सयौं नेताकार्यकर्ता सुझाव संकलन स्थल पुगेका थिए । मधेसबादी दलका नेताकार्यकर्ताले कार्यक्रम स्थलबाहिर मस्यौदाको प्रतिलिपि जलाएका छन् ।
कार्यक्रमलाई सुरक्षा दिन नेपाल प्रहरीका एक सय २५ र सशस्त्र प्रहरीका एक सय ३५ सुरक्षाकर्मी खटिएका थिए । कार्यक्रम स्थलमा ढुंगा प्रहार गरेपछि स्थिती नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेपनि ठुलो घटना नभएको प्रहरी नायब उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
कार्यक्रमपछि सभासद् खातुनले भित्र र बाहिर बिरोध गरेर सुझाव दिने सबैको राय आफूले संविधान सभामा बुझाउने बताईन् । मधेसवादी दलका नेताकार्यकर्ताले गरेको बिरोधलाई आफूले सामान्य रुपमा लिएको भन्दै खातुनले सबैको सहमतीमा संविधान जारी गरिने पनि दाबी गरिन् ।
0 comments:
Post a Comment