विद्यार्थी नभएर ६० उच्चमावि संकटमा
By: बी एन एन|श्रावण ११|मोरङ |विद्यार्थी अभावमा मोरङका पाँच दर्जन सामुदायिक उच्चमावि संकटमा परेका छन्। कक्षा ११ को पढाइ सुरु भएको झन्डै एक महिना बित्दा यहाँका केहीबाहेक अन्य सामुदायिक उमाविले विद्यार्थी पाएका छैनन्।
सामुदायिक उमाविले विद्यार्थी भर्ना गर्न साउन तेस्रो साता हुने एसएलसीको मौका परीक्षाको नतिजा पर्खनुपर्ने बाध्यता छ। मौका परीक्षामा मोरङबाट ३ हजार ८ सय २६ जना परीक्षार्थी सहभागी हुँदै छन्। तीमध्ये उत्तीर्ण हुने विद्यार्थी संख्याले पाँच दर्जन सामुदायिक उमाविको भविष्य निर्धारण गर्ने छ।
मोरङमा ६० वटा सामुदायिक उच्च मावि छन्। तीमध्ये अहिले अधिकांशको कक्षा ११ मा मुस्किलले तीनचार जना विद्यार्थी भर्ना भएका छन्। नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियनका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतका अनुसार सहरी क्षेत्रका एकाधबाहेक ग्रामीण क्षेत्रका सामुदायिक उच्च माविमा विद्यार्थी नै छैनन्। ती उमाविले साउन तेस्रो साता हुने एसएलसीको मौका परीक्षाको नतिजा पर्खनुबाहेक अर्को विकल्प नरहेको उनले बताए।
विराटनगर र आसपासका ग्रामीण बजारमा रहेका दुई दर्जन निजी उच्च माविमा विद्यार्थी खचाखच छन्। निजी उमाविमा विद्यार्थीको अभाव छैन। हिसान मोरङका अध्यक्ष बलराम पन्तले भने, ‘सबै निजी उमाविले आफनो क्षमताअनुसार विद्यार्थी भर्ना लिएर कक्षा ११ को पढाइ सुरु गरिसकेका छन।’ मोरङका निजी उमाविका कक्षा ११ मा १० हजारभन्दा बढी विद्यार्थी भर्ना भएको पन्तले बताए। सामुदायिक विद्यालयबाट एसएलसीमा विद्यार्थी उत्तीर्ण न्यून हुँदा र निजी उच्च माविले सामुदायिक उमाविसरह शुल्क लिने गरेकाले नियमित रूपमा एसएलसी उत्तीर्ण हुने विद्यार्थी निजीमा भर्ना हुने गरेको नेपाल उच्चमावि शिक्षक एसोसिएसन मोरङका अध्यक्ष महेश निरौलाले बताए।
जिल्लाका ६० वटा सामुदायिक उमाविमध्ये ४० भन्दा बढीमा १०/१० जना विद्यार्थी पनि भर्ना भएका छैनन्। ‘नियमित एसएलसीमा विशिष्ट, प्रथम र दोस्रो श्रेणीमा उत्तीर्ण हुने सबै विद्यार्थी निजीमा भर्ना हुन्छन्, उनले भने। तेस्रो श्रेणी र मौका परीक्षामा उत्तीर्ण हुने विद्यार्थीमात्र सामुदायिक उमाविमा भर्ना हुने गरेकाले ती विद्यालय संकटमा परेको निरौलाले बताए।
यसपालिको एसएलसीमा यहाँका १ सय ५४ सामुदायिक र १ सय ७९ संस्थागत विद्यालयका १६ हजार २१ परीक्षार्थीमध्ये ४९ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। शिक्षा कार्यालयका अनुसार विशिष्ट श्रेणीमा ६ सय ५३, प्रथम श्रेणीमा ४ हजार ३ सय २६, द्वितीय श्रेणीमा २ हजार ७ सय ८८ र तृतीय श्रेणीमा २ सय १८ जना उत्तीर्ण भएका थिए। यहाँका सात वटा सामुदायिक विद्यालयको एसएलसी नतिजा शून्य थियो।
एसएलसी नियमिततर्फ तेस्रो श्रेणीमा उत्तीर्ण भएका २ सय १८ जना विद्यार्थीमात्र अहिले यहाँका सामुदायिक उमाविमा भर्ना भएका छन्।
Monday, July 27, 2015
विद्यार्थी नभएर ६० उच्चमावि संकटमा
1:05 AM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment