Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, September 11, 2015

नेपाली भूमिबाट बालुवा तस्करी चौकी सरेको फाइदा उठाउँदै तस्करको हालिमुहाली

By: बी एन एन, पिडारी (पर्सा)
पर्साको पिडारीस्थित ओरिया खोलामा बालुवा लोड गर्दै भारतीय ट्रयाक्टर । भूषण/कान्तिपुर
भाद्र २५, २०७२- मध्य तराईका जिल्लामा करिब १ महिनादेखि जारी मधेसी मोर्चाको आन्दोलनका क्रममा सीमावर्ती क्षेत्रका प्रहरी चौकी विस्थापित भएपछि भारतीय तस्करले नेपाली भूमिबाट दिनहुँ करिब ५ सय ट्रयाक्टर बालुवा तस्करी गरेर लैजाने गरेको पाइएको छ । सदरमुकाम वीरगन्जभन्दा ४५ किलोमिटर पश्चिम रहेको पिडारी गाविसको ओरिया खोलाबाट यस्तो तस्करी भइरहेको छ ।

खोला पारिपट्टि बिहार पश्चिमी चम्पारण गदियानी भंगाहाका कारोबारीले बिहानदेखि साँझसम्म बालुवा उत्खनन गरी लैजाने गरेका छन् । दुई मुलुकको सीमा छुट्याउने पिलर नम्बर ४२४/१९ बाट झन्डै १ किलोमिटरभित्र नेपाली भूमिमा प्रवेश गरी निर्वाध रूपले बालुवा ढुवानी गरिरहेका छन् । स्थानीयले विरोध गर्दा तस्करको आक्रमणबाट बिहीबार १ असईसहित ४ सर्वसाधारण घाइते भएका छन् । गत मंगलबार आन्दोलनकारीले जिल्लाका सीमावर्ती क्षेत्रका ६ वटा प्रहरी चौकी जलाएका थिए । नाकाबाट प्रहरी विस्थापित भएलगत्तै बालुवा तस्करी बढेको सूचना आएपछि सञ्चारकर्मीसहित अनुगमनमा गएका प्रहरीलाई तस्कर समूहले बालुवा उठाउने सावेल (बेल्चा) लिएर लखेटेका थिए ।
२०/२५ जनाको समूहमा रहेका तस्करले पिडारी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान राउत कुर्मीलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । ‘त्यसैमध्यका एक तस्करले चिनेपछि छाडे,’ असई कुर्मीले भने । प्रहरीलाई कुटपिट गरेको जानकारी गाउँलेले पाएपछि प्रतिकार गर्न खोलासम्मै पुगेका थिए । भिखमपुर र सुवर्णपुरबाट आएका सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले स्थिति नियन्त्रणमा लिएका थिए । स्थानीय नेशार समानीका अनुसार एक ट्रयाक्टर बालुवा पारिपट्टि (भारतमा) ५ हजार भारुमा बिक्री हुन्छ ।
नाकाका चौकी जलेयता दैनिक ३० लाख बराबरको बालुवा लगिरहेका छन् । लामो समयदेखि अवैध रूपमा बालुवा लाने गरे तापनि अहिले मधेस आन्दोलनमा प्रहरी चौकी जलाइएपछि उनीहरू हौसिएको समानीले बताए । ‘विगतमा सीमित संख्यामा लाने गरेका थिए,’ उनले भने, ‘गत सातादेखि सयौँको संख्यामा आउन थालेका छन् ।’ नेपाली सुरक्षाकर्मीको सुराकीका लागि खोलाको डिलमा तस्करले भैँसी गोठालो खटाएका हुन्छन् । ‘यता गाउँतिरबाट सुरक्षाकर्मी आएको देख्नासाथ सुराकीले इसारा गरिहाल्छन्,’ पिडारी ५ का वीरेन्द्र महतोले भने, ‘त्यसपछि सबै भाग्छन् ।’
अवैध ओसारपसार गरेको विषयमा उक्त स्थानमा पटकपटक विवाद हुँदै आएको छ । ‘हाम्रै सम्पत्ति लुटेर खाएका छन्,’ स्थानीय मनोज रामले भने, ‘त्यसमाथि हामीलाई कुट्छन् पनि ।’ २ वर्षअघि अवैध ओसारपसार नियन्त्रण गर्न जाँदा तस्कर समूहले प्रहरी नायव निरीक्षक गोपाल थामी, प्रहरी जवानद्वय सुरेन्द्र कलवार र सुनील रिमाललाई कुटेर हात भाँचिदिएका थिए । ‘प्रहरीको हतियारसमेत लुटेर लगेका थिए,’ स्थानीय सञ्चारकर्मी ओमप्रकाश चौधरीले भने, ‘पछि सम्झाइबुझाई गरेपछि हतियार फर्काए ।’
सुरक्षा स्रोतका अनुसार दुई देशीय सीमा सुरक्षाा बैठकमा ओरिया खोलाको अवैध उत्खननबारे नेपाली पक्षले चासोसाथ भारतीय समकक्षीको ध्यानाकर्षण गराउँछन् । ‘नेपाली भूमिमा जबरजस्ती प्रवेशमा रोक लगाइने भारतीय सुरक्षा अधिकारीले पटकपटक प्रतिबद्धतासमेत जनाएका छन,’ उक्त स्रोतले भने, ‘कार्यान्वयन भने हुँदैन ।’ राज्य कमजोर हुँदा आफ्नै सम्पत्ति विदेशीले लुटेर खाँदा निरिह बनेकोमा पिडारीवासीले ग्लानी प्रकट गरेका छन् । पर्साका तत्कालीन एसपी रमेशप्रसाद खरेलले ७ वटा भारतीय ट्रयाक्टर उक्त ठाउँबाट नियन्त्रणमा लिएपछि उनको कार्यकालमा अवैध उत्खनन बन्द भएको स्थानीय बताउँछन् ।Source-E-kantipur

0 comments:

Post a Comment