Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, September 7, 2015

भूमिकाले पाइन् 'अन्य' उल्लेख भएको नागरिकता

By: बी एन एन| काठमाडौं, भदौ २१

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन थालेको छ। यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई गृह मन्त्रालयको परिपत्र अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरिएको प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए। काठमाडौं नैकापकी तेस्रो लिंगी कैलाश श्रेष्ठ भूमिकाले अन्य उल्लेख गरेर नागरिकता पाइन्।

गृह मन्त्रालयले २०६९ पुष १७ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई उनीहरुको पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गर्न परिपत्र जारी गरेको थियो। नैकापबाट तेस्रोलिंगी कैलाश श्रेष्ठ र भूमिका एकै व्यक्ति भएको कागज पेश गरेपछि यसअघि लिएको नागरिकताको प्रतिलिपि दिदै जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख गरेर नागरिकता दिएको हो।

यसअघि कैलाश श्रेष्ठको नागरिकतामा लिंग उल्लेख थिएन। केही जिल्ला प्रशासन कार्यालयले पहिले नै नागरिकता लिएकाको लिंग परिवर्तन गरेर पुनः वितरण गर्न नसकिनै बताउँदै आएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्र अनुसार भूमिकालाई पहिचान अनुसारको नागरिकता दिएको हो।

प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कुलशेखर अर्यालले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकतामा हस्ताक्षर गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले मनोज शाही मोनिकालाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिएको थियो। मोनिकाले राहदानी पनि अन्य उल्लेख गरेर लिइसकेकी छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी योगराज पाण्डेयले अन्य उल्लेख गरेर नागरिकता दिन सकिने तर पहिलेको नागरिकतामा उल्लेख भएको नाम भने परिवर्तन गर्न नसकिने बताए।

तेस्रोलिंगी भूमिकाले कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठकै नामबाट नागरिकता पाउनु पर्ने माग गरेपनि नाम परिवर्तन गर्न सकिने निर्देशिका र परिपत्र केही नआएकाले त्यो सम्भव नहुने पाण्डेयले बताए।

‘अन्य उल्लेख गरेर नागरिकता दिन सकिन्छ‘ सहायक प्रजिअ पाण्डेयले भने, ‘तर नाम नै परिवर्तन भने गर्न सकिदैन।‘ Setopati

0 comments:

Post a Comment