Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 13, 2015

गिरिजालाई सम्झँदै सुशील, ओली र प्रचण्डले यसो भने

गिरिजालाई सम्झँदै सुशील, ओली र प्रचण्डले यसो भने
By: बी एन एन|असार २९| झापा ,भद्रपुर : नयाँ संविधानका लागि १६ बुँदे सहमति गरेका चार राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ संविधान जारी गर्न अब कुनै ताकतले पनि  रोक्न नसक्ने दृढता व्यक्त गरेका छन्।


झापाको चन्द्रगढीमा निर्माण गर्न लागिएको दिवंगत नेता गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिलान्यास सभालाई सोमबार सम्बोधन गर्दै चारै शीर्ष नेताहरुले यस्तो दृढता व्यक्त गरेका हुन् । १६ बुँदे सहमति भएर मस्यौदा समेत तयार भइसकेकोले संविधान आउने विषयमा अब शंका नगर्न उनीहरुले जनतालाई अपिल गरेका छन् ।

चार दलका नेताहरुले मस्यौदामा  केही कमजोरी भए यसलाई परिमार्जन गर्न सकिने बताउँदै तर कसैको आन्दोलन वा विरोधले संविधानमा ढिलाइ नहुने स्पष्ट पारेका छन्।

साउनमै संविधान : प्रधानमन्त्री

प्रमुख अतिथि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले साउनभित्रै संविधान ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले रोक्न सक्दैन । तपाईंहरु ढुक्क हुनुहोस ।’

नयाँ संविधानका लागि १६ बुँदे सहमति गरेका चार राजनीतिक दलविच नै संघीयता र राज्य सीमांकनको विषयमा मतभेद देखिएको बेला प्रधानमन्त्री कोइरालाले सो मतभेदका विषयलाई टुंग्याउने किसिमले चारदलबीच कुराकानी भइरहेको बताए । सहमतिको विरोध गरिरहेका दलहरुलाई पनि उनले संघीयताका विषयमा द्विविधामा नपर्न आग्रह गरे ।

कोइरालाले भने, ‘हामी चार राजनीतिक दलविच संघीयता र राज्य सीमांकन गरेरै संविधान जारी गर्ने विषयमा कुराकानी गरिरहेका छौं । जसले गर्दा कसैले पनि आन्दोलन गर्नु नपरोस् ।’ कोइरालाले मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए ।

संविधान ल्याउन नदिने सबै षडयन्त्र विफल : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान ल्याउन नदिने सबै षडयन्त्र विफल भएको बताएका छन्।

संविधान बन्न नदिनका लागि केही दलले १६ बुँदे सहमतिको विरोध गरिरहे पनि वर्तमान संविधान सभाले संविधान जारी गरेरै छाड्ने बताए । ओलीले भने, ‘संविधान बन्न नदिने प्रपञ्च तुलसाका मोठमा भएन कि बरपिपलका चौतारीमा भएन । सबैतिर भएको तपाईं हामी सबैले देख्यौं । तर यो संविधान सभाले संविधान बनाएरै छाड्छ ।’

लोकतन्त्रको मर्म र भावना नबुझेका केही जातीय, क्षेत्रीय दलको नाममा रहेका झुण्डले अवरोध गर्दैमा संविधान निर्माणको कार्य कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्दै ओलीले चाँडै जनताका बीचमा छलफलका लागि मस्यौदा लिएर आफूहरु निर्वाचन क्षेत्रमा आउने बताए ।

संविधानको जहाज उडिसक्यो : प्रचण्ड

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान ल्याउने जहाज उडिसकेको भन्दै त्यो जहाजलाई सुरक्षित ल्याण्ड गराउने प्रयास भइरहेको बताए ।

सभासदहरु जनताको राय सुझावको लागि जनताको घर दैलोमा पुग्ने बताउँदै उनले जनताको सुझाव अनुसार संविधानको मस्यौदा परिमार्जन गर्ने ठाउँ बाँकी रहेकोले असन्तुष्ट पक्षका भावनालाई नयाँ संविधानमा समेटिने बताए ।

अहिले बनेको संविधानको मस्यौदा कुनै दललाई पूर्ण स्वीकार्य नभएको भए पनि अब बन्ने नयाँ संविधान नेपालीको संविधान हुने प्रचण्डको दाबी थियो । उनले भने, ‘बन्न लागेको नयाँ संविधानका प्रावधान न कांग्रेसलाई मन परेको छ, न एमालेलाई मन परेको छ, न एमाओवादीलाई मन परेको छ न अन्य दललाई । तर उपाय नभएपछि ल्याउनै पर्ने बाध्यता भएकाले भए पनि अब बन्ने संविधान नेपालीको संविधान बन्नेछ ।’

उनले अहिले पनि संविधान बन्न नदिने प्रयासहरु भइरहेको बताउँदै त्यस्का लागि राजनीतिक दलहरु सजग रहेको बताए ।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देशको संकट समाधान हुने ठानेर आफूहरुले १६ बुँदे सहमति गरेको बताए । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला र नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले १६ बुँदे सहमति संविधान निर्माणको आधार भएको धारणा राखेका थिए ।

0 comments:

Post a Comment