Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, July 15, 2015

बजेट पास नगर्ने एमालेको चेतावनी

बजेट पास नगर्ने एमालेको चेतावनी

by:बी एन एन |२०७२ असार ३१

काठमाडौं: अर्थमन्त्री डा. रामशरण महतले मंगलबार संसद्मा पेस गरेको बजेट एकलौटी भएको आरोप लगाउँदै एमालेले त्यसलाई पारित नगर्ने चेतावनी दिएको छ। संविधानसभा भवन नयाँ बानेश्वरमा बुधबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सभासद्हरूसँग बजेट पारित नगर्ने चेतावनी दिएका हुन्।

मंगलबार बजेट पेस भएलगत्तै अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर बजेट एकलौटी भएकोमा गुनासो गर्दै सुधार नगरे आफूहरू पारित गर्न बाध्य नहुने चेतावनी दिएका थिए। एमालेले बजेट पारित नगरे सरकारको भविष्य संकटमा पर्नेछ।


अध्यक्ष ओलीले बजेटका पक्षमा कुनै पक्षपोषण नगर्न र भएका त्रुटिको खुलेर विरोध गर्नसमेत सभासद्हरूलाई निर्देशन दिए। 'यो बजेटको कुनै पक्षपोषण गर्न जरुरी छैन। नराम्रा कुराको खण्डन गरेर जानुहोस्।

कांग्रेस एक्लैले देश चलाए जसरी बजेट ल्याएको छ,' ओलीले बैठकमा भने। ओलीले बजेटबारे तत्काल कुनै निर्णय गर्ने र संशोधन नगरिए सोच्न बाध्य हुने जानकारी बैठकमा गराएका थिए।

२०५१ सालमा सत्तासीन नेपाली कांग्रेसको एउटा पक्षले असहयोग गरेपछि सरकारको नीति तथा कार्यक्रम विफल भएको थियो । यसैकारण सरकारले मध्यावधि निर्वाचन घोषणासँगै राजीनामा दिनुपरेको थियो।

यसपटकको बजेटमा कांग्रेसीकरण गरेको, सत्तासाझेदार दलसँग छलफल नगरेको भन्दै सत्तासीन एमालेको बैठकमा अधिकांश नेता तथा सभासद्हरूले असन्तुष्टि प्रकट गरेका थिए। पार्टीभित्र सधैं संस्थापन र इतरको अवस्थामा देखिने एमाले नेताहरू बजेटविरुद्ध भने एकै ठाउँमा देखिए।

सबै नेताले एकै स्वरमा बजेटको विरोध गर्दै त्यसलाई संशोधन नगरे पारित गर्न नदिने चेतावनी दिएका थिए। बैठकमा अध्यक्ष ओली, उपाध्यक्ष विद्या भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एकै स्वरमा बजेटको विरोध गरेका थिए।

'यो बजेटको कुनै पक्षपोषण गर्न जरुरी छैन। नराम्रा कुराको खण्डन गरेर जानुहोस्।  कांग्रेस एक्लैले देश चलाए जसरी बजेट ल्याएको छ।'-केपी शर्मा ओली,एमाले अध्‍यक्ष
उनीहरूले मध्यपहाडी लोकमार्गको सुरुमा रहेको पुष्पलालको नाम हटाएको, नयाँ कार्यक्रम नआएको र यस्तो बजेटका पक्षमा मतदान गर्दा जनतामा पार्टीको साख गिर्ने भन्दै असन्तुष्टि जाहेर गरेका थिए। वरिष्ठ नेता नेपालले बजेट राजनीतिक रूपमा आग्रही भएको र कांग्रेसीकरण गरिएको आरोप लगाए।

उनले एमाले सत्ता साझेदार हो भन्ने न्यूनतम तथ्यलाई पनि ख्याल नगरी बजेट ल्याएको आरोप लगाए। पूर्वअर्थमन्त्री पाण्डेले ट्रमा सेन्टरको नामकरण गर्दा मदन भण्डारी र हरि खड्काको नामा जोडेकोमा आपत्ति जनाए।

बजेटमा चितवनमा मदन भण्डारी ट्रमा सेन्टर र बागलुङमा हरि खड्का ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ। बागलुङ-१ बाट निर्वाचित सभासद् खड्काको सडक दुर्घटनामा निधन भएको थियो।

पूर्वअर्थमन्त्री पाण्डेले मदन भण्डारीसँग खड्काको तुलना गरेकोमा आपत्ति जनाए। बैठकमा सभासदहरूले पनि बजेटको विरोध गर्न समय मागेका थिए। 'यो बजेट कुनै हालतमा पारित हुँदैन।

अध्यक्षले समेत पारित हुँदैन भनिसक्नुभएको छ,' सभासद् यज्ञराज सुनुवारले अन्नपूर्णसँग भने। अर्का सभासद् विशाल भट्टराईले यो बजेट पास नगर्न आफूहरूले पार्टी नेतृत्वलाई दबाब दिने बताए।

0 comments:

Post a Comment