Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 20, 2015

सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव

सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव
by BNN
विराटनगर, ४ साउन : संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव भएको छ । रानीस्थित मिल्स माविमा राखिएको क्षेत्र नम्बर ५ को सुझाव संकलन केन्द्रमा पुगेका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले सुझाव संकलनको काम कोठाभित्र नभई चौरमा गर्नुपर्ने माग गरेपछि वादविवाद भएको थियो । सो क्रममा प्रहरी र फोरमका कार्यकर्ताबीच घम्साघम्सी परेको थियो । घम्साघम्सीमा संघीय फोरम नेपालका केन्द्रीय सदस्य संजय सिंह, जिल्ला अध्यक्ष राजकुमार यादव, उपाध्यक्ष सरोज यादव र युवा फोरमका जिल्ला सदस्य अनिल झालाई सामान्य चोट लागेको छ । मिल्स माविमा भएको घटनापछि नाराबाजी गर्दै निस्किएका फोरमका कार्यकर्ताले भन्सार नाकास्थित मधेश आन्दोलनका सहिद बेचन मियाँको सालिक अगाडि पुगेर संविधानको मस्यौदा जलाएका थिए । यसैबीच, मस्यौदा संविधानमा भइरहेको सुझाव संकलनलाई नाटकको संज्ञा दिँदै राप्रपा नेपालले विराटनगरमा विरोधसभाको आयोजना गरेको छ । मोरङ क्षेत्र नम्बर ५ को सुझाव संकलनस्थल मिल्स मावि नजिकै राप्रपा नेपालको क्षेत्र नम्बर ५ इकाइ कमिटीले विरोधसभाको आयोजना गरेको हो । वडा नम्बर २० को भट्टीमोडमा आयोजित कार्यक्रममा राप्रपा नेपालका जिल्ला र केन्द्रीयस्तरका नेताहरुले बोलेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक तराई–मधेश संगठनका महामन्त्री दिनेश साहले २ दिन लगाएर देशभरि संकलन गर्न लागिएको सुझावलाई २४ घण्टाभित्र प्रतिवेदन बनाएर पेश गर्न नसकिने भन्दै सुझाव संकलनको नाममा जनताको आँखामा छारो हाल्ने काम भइरहेको दाबी गर्नुभयो । राप्रपा नेपालका जिल्ला अध्यक्ष उद्धव दाहालसहित राप्रपा नेपालकै मुस्लिम मियाँ र कुर्वान मियाँलगायतले नयाँ संविधानमा देशलाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्नुभयो ।

0 comments:

Post a Comment