Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 17, 2015

बिक्रीमा कोइराला निवास

बिक्रीमा कोइराला निवास

by बी एन एन| २०७२ साउन २ शनिबार|

विराटनगर: तीन पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाको ऐतिहासिक निवास नाति पुस्तामा पुग्दा उनीहरूको निजी सम्पत्तिको स्रोत मात्र बन्न पुगेको छ। 'कोइराला निवास' भनेर चिनिने विराटनगरको एक बिघा १६ कट्टा जग्गा नाति–नातिनीले अंशबन्डा गरी टुक्रा पारेका छन्। मोरङ कांग्रेसले किन्ने भन्दासमेत नदिएर कतिपयले त जग्गा अरूलाई नै बेचिसकेका छन्।

दक्षिणपट्टिको आफ्नो भागमा परेको ८ कट्टा जमिन बीपी पुत्रहरु प्रकाश, डा. शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरिदिए। उत्तरपट्टिको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । त्योमध्ये केही जग्गा छोरा ज्योतिले पनि बिक्री गरिसकेका छन्।

पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको छ। उनले चार कट्टा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीं भवन बनाएकी छिन्। पिताजी कृष्णप्रसादको सम्पति अंशबन्डा हुँदा निवास भने डा. शेखरको भागमा परेको छ। पुरानो निवास रहेको क्षेत्र केशव पुत्रहरू डा. शेखर र निरञ्जनको भागमा परेको हो।

पिताजी कृष्णप्रसाद कोइरालाको यो नासो उनका सन्तानमा भागबन्डा भएपछि चिराचिरा भएको कांग्रेसजनको विश्वास छ। अंशबन्डा हुँदा धेरैले अपेक्षा गरेका थिए निवास क्षेत्र संग्रहालय बन्नेछ । तर जमिन भागबन्डा भई बिक्री पो गरियो। अहिले निवासको साबिकको साख खस्किएको अनुभव धेरैले गरेका छन्।

जीपी फाउन्डेसनको निर्माणाधीन भवनवरिपरि लगाइँदै गरेको पर्खालले छलेको कोइराला निवास। तस्बिर: अन्‍नपूर्ण
गिरिजाप्रसाद जीवित हुन्जेलसम्म कोइराला निवासमा भीडभाड हुन्थ्यो। आगन्तुकलाई गिलासका गिलास चिया बाँडिन्थ्यो । तर घारको 'रानु मौरी' नहुँदाझैं यो निवास केही वर्षयता बिरानो बन्दै गएको छ। मुलुक हाँक्ने तीनजना प्रधानमन्त्री हुर्किएको 'कोइराला निवास' अहिले पर्खालको घेराबन्दीमा छ।
'कोइराला निवास'भनेर चिनिने विराटनगरको एक बिघा १६ कट्टा जग्गा नाति-नातिनीले अंशबन्डा गरी टुक्रा पारेका छन्।मोरङ कांग्रेसले किन्ने भन्दासमेत नदिएर कतिपयले त जग्गा अरूलाई नै बेचिसकेका छन्।मोरङ कांग्रेस सभापति अमृत अर्यालले कोइराला निवासलाई संग्रहालय बनाउने खाका कोरेर कृष्णप्रसाद कोइराला, पत्नी दिव्या कोइराला र उनीहरूका छोरा तथा बुहारी नोना कोइरालाको सालिक र उनीहरूसँग सम्बन्धित ऐतिहासिक सामग्री राख्ने योजना बनाएका थिए।
कांग्रेसजनले कोइराला निवासलाई संग्रहालय बनाउन गरेको प्रयास अन्ततः तुहिएर गयो। त्यतिबेला संग्रहालय बनाउने अभियानका संयोजक केशव दुलालले भने, 'हामीले कोइराला निवासलाई संग्रहालय बनाउनुपर्छ भनेर प्रयास गरेका थियौं तर सकिएन।

कोइराला परिवारभित्र सम्पत्ति अंशबन्डा भएपछि हामीले केही गर्न सकेनौं।' मोरङ कांग्रेसले त कोइराला निवासको जग्गा नै खरिद गरी संग्रहालय बनाउने प्रयास थालेको थियो। तर त्यो पनि सम्भव भएन।

जानकारका अनुसार भतिजाहरूले जग्गा बेचेको कुराबाट गिरिजाप्रसाद पनि सन्तुष्ट थिएनन्। डा. शेखर कोइरालाले एक वर्षअघि विराटनगस्थित कोइराला निवासका महत्त्वपूर्ण सामग्री बीपी संग्रहालयलाई हस्तान्तरण गरिदिए। 'वास आफैमा खुला संग्रहालय हो। यसको ऐतिहासिकता र महत्त्वबारे बयान गरिरहनै पर्दैन,' त्यतिबेला कोइरालाले भनेका थिए।

पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जनताको अवस्था देखाउन फाटेको भोटो पार्सल गरेर पठाएका थिए। प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहींबाट फुकिएको थियो।

तीन छोरा मातृका, बीपी र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए। 'तर तिनै कृष्णप्रसाद कोइरालाको योगदानको कदर गर्दे संग्रहालय बनाउन चालिएको अभियान भने तुहिएर गयो,' मोरङ कांग्रेसका सचिव यदुकुमार बिष्टले भने,'अब त हामीलाई आशा पनि छैन। संग्रहालय बनाउन त्यतिबेला राज्यबाट पनि सहयोग भएन।'

संग्रहालयको खाका कोरेर त्यहाँ कृष्णप्रसाद कोइराला, पत्नी दिव्या कोइराला र उनीहरूका छोरा तथा बुहारी नोना कोइरालाको सालिक र उनीहरूसँग सम्बन्धित ऐतिहासिक सामग्री राख्ने मोरङ कांग्रेसले बनाएको योजना पार्टीका जिल्ला सभापति अमृत अर्यालले बाहिर ल्याएका थिए। तर त्यसले मूर्त रूप लिन सकेन।

बरु एक वर्षअघि बीपीसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण सामग्री डा. शेखर कोइरालाले बीपी संग्रहालयलाई जिम्मा लगाइदिए। निवासलाई संग्रहालय बनाउने भनिएको छ तर यी सामग्री किन दिनुभएको भन्ने पत्रकारको जिज्ञासामा, 'यो ठाउँ आफैंमा संग्रहालय त हो नि। संग्रहालयभन्दा के कम छ र ?' भन्ने जबाफ डा. कोइरालाले दिएका थिए।

गिरिजाप्रसाद कोइरालाको देहावसानपछि भने कांग्रेसजनका लागि कोइराला निवास 'औपचारिकताका लागि भेटघा' गर्ने थलोमात्र बनेको छ। केन्द्रीय राजनीतिलाई प्रभाव पार्ने निर्णय यहाँबाट हुन छाडेका छन्। पारिवारिक अंशबन्डा र पिताजी कृष्णप्रसाद कोइरालाले आर्ज्या को यो ऐतिहासिक धरोहरको जग्गा खण्डखण्डमा विभाजन गरी बिक्री भएको छ।

कोइराला निवासमा टिनको दोमल्ला घर छ। बीपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलापको नीति बोकेर नेपाल फर्केपछि उनले प्रयोग गर्ने कोठा अहिले शेखरले प्रयोग गरेका छन् ।
निकै सफा देखिने आँगनमा वन अमलाको अग्लो र बूढो रूख छ।

धेरै हाँगा त सुकिसकेका छन्। तर केहीमा भने अझै फल लागेको देखिन्छ । आँगन मुन्तिर भिआइपीलाई सलामी दिन 'सलामी ड्यास' निर्मित छ। मास्तिर उक्लिँदा बायाँपट्टिको साँघुरो बरन्डाबाट टिनले छाएको घरतिर पुगिन्छ। टिनको घरसँगै दायाँपट्टि छत ढलान गरिएको पक्की घर पनि छ। दुवै घर चढ्ने सिँढी भने एउटै बनाइएको छ।

पक्कीघरको मूलद्वारमै एउटा फ्रेममा चिठी देखिन्छ। पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले हातले लेखेको त्यो चिठी फ्रेममा झुन्ड्याइएको छ। बरन्डामा करिब बीसजना मानिस अटाउने गरी कुर्सी र बेन्च राखिएको छ। पहिलोपटक विराटनगरको कोइराला निवास पस्ने मानिसको नजरमा पर्ने दृश्य लगभग यत्ति हुन्।

तर यतिबेला आफ्नो मौलिक पहिचान जोगाउन कठिन अवस्थामा पुगेको यो ठाउँको क्षेत्रफल अहिले निक्कै खुम्चिएको छ। दायाँबायाँ व्यापारिक घर ठडिएका छन्। अघिल्तिर जीपी फाउन्डेसनको अग्लो घर उभिएको छ । यसले कोइराला निवासलाई छेलिदिएको छ।

पहिले अस्पताल चोकको मूलबाटोबाट प्रस्टै देखिने कोइराला निवासको 'दर्शन' गर्न अहिले गल्लीको बाटो भएर खोज्दै पश्चिमतिर लाग्नुपर्छ । कोइराला निवासलाई संग्रहालय बनाउन गठित संयुक्त समितिका संयोजक केशव दुलाल भन्छन्, 'कोइराला निवासको क्षेत्रफल खुम्चिएको छ।

निवास छेलिएको छ। अहिले धेरै कांग्रेसजनको मन दुख्छ। हामी यो ठाउँलाई संग्रहालय बनाउन असफल भयौं।' यद्यपि कांग्रेसजनले कोइराला निवास परिसरलाई संग्रहालय बनाउन निकै दौडधूप र कसरत गरेका थिए।

जीवनकालमै गिरिजाप्रसाद कोइराला पनि निवास क्षेत्रलाई बाबु र आफ्नो परिवारको स्मृति चीरकालसम्म रहोस् भन्ने अभियानमा लागेका थिए। 'तर, भतिजाहरूसँगको कुरो मिल्न नसक्दा कोइराला निवास संग्रहालय बन्न सकेन', एकजना कांग्रेस कार्यकर्ताले भने, ‘भतिजाहरूले जग्गा बेच्दैछन् भन्ने थाहा पाएर एकपटक चार दिन बस्ने गरी विराटनगर आउनुभएका उहाँ दुई दिनमै फर्कनुभयो। त्यसपछि धेरै समयसम्म आउनु भएन।'

गिरिजाप्रसाद कोइराला राष्ट्रिय राजनीतिबारे तात्तातो बहस छेड्न विराटनगर आएर कोइराला निवासको बरन्डामा पत्रकार सम्मेलन गर्थे। आफ्नो कुरा प्रस्ट राख्थे। तर उनको देहावसानपछि पत्रकारहरू पनि निवास पुग्ने क्रम निकै पातलिएको छ। नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र बिष्टले भने, 'गिरिजाप्रसाद हुँदाजस्तो निवासको चार्मिङ छैन। डा. शेखरले यो संस्कारलाई निरन्तरता दिन सकेका छैनन्।'

निवासबाट बीपी संग्रहालय समितिलाई एक सय १४ वर्ष पुरानो सन्दुक, चामल राख्ने भाँडो, बीपीले पार्टीको सातौं महाधिवेशनमा प्रस्तुत गरेको संशोधन विधान, भारतीय दूतावासबाट प्राप्त महत्त्वपूर्ण पुस्तक, करुवा, खुकुरी, ह्यान्ड माइक, पैसा राख्न प्रयोग हुने गल्लालागयत सामग्री दिइएको थियो। तिनमा बीपीले पढेका स्वदेशी तथा विदेशी पुस्तकहरू धेरै थिए।

भारतको फारबिसगन्जमा निर्वासनमा रहेका बेला प्रयोग भएको डायरी पनि बीपी संग्रहालय समितिलाई दिइएको थियो। डायरीमा उतिबेला आन्दोलन गर्न लागेको खर्चको विवरण र आन्दोलन सफल हुन्छ भन्ने विश्वाससहितका गजलका सेरहरू पनि लेखिएको थियो। कांग्रेस मोरङका सचिव बिष्टले भने, 'पिताजीका चार छोराकै सन्तानबीच राम्रो सल्लाह हुन सकेको भए कोइराला निवास त्यतिबेलै संग्रहालय बनिसक्ने थियो।'Source AP

0 comments:

Post a Comment