Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 23, 2015

छुटटै राष्ट्रका लागि मधेसमा मोर्चाको आन्दोलन, भारतबाट पाकिस्तान अलग्गिए जस्तै मधेस अलग्गिने चेतावनी

छुटटै राष्ट्रका लागि मधेसमा मोर्चाको आन्दोलन, भारतबाट पाकिस्तान अलग्गिए जस्तै मधेस अलग्गिने चेतावनी

By:BNN |२०७२ साउन ७ बिहीवार

भारतबाट पाकिस्तान अलग्गिए जस्तै मधेस अलग्गिने चेतावनी
वीरगन्ज: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशमा अबको आन्दोलन छुटटै राष्ट्रका लागि हुने चेतावनी दिएको छ ।

विहीबार वीरगन्जमा मोर्चाले गरिएको संविधानको प्रारम्भिक मस्यौदाको विरोधसभामा मधेशी मोर्चामा आबद्ध चारवटै मधेसी दलका शीर्ष नेताहरुले १६ बुँदे सहमति गरेका चार दलले मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरेकाले अबको आन्दोलन अलग राष्ट्रका लागि हुने चेतावनी दिएका हुन् ।

मधेसी दलका नेताहरुले यस्तै रबैया भए मुलुकमा स्वराज र जातीय आन्दोलन शुरु हुने र मधेसले काठमाण्डौसँगको नाता तोडन बताएका छन् ।

विरोधसभामा बोल्दै तरार्इ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले मोर्चाको अबको आन्दोलन छुट्टै राज्यका लागि हुने चेतावनी दिए ।

'अब मधेसी जनताको दिमागमा मधेलार्इ छुटटै देश बनाउनु पर्छ भन्ने सोच पलाउन थालिसकेको छ', उनले भने, 'यदि अहिलेकै मस्यौदाका आधारमा संविधान जारी भए मधेसवादी दलहरुले पनि यही विकल्प रोज्न बाध्य हुने छन् ।'

चार दलबीचको १६ बुँदे सम्झौता सत्ता स्वार्थका लागि मात्र गरिएको उनको आरोप थियो । '१६ बुदे सम्झौता मधेसीका लागि धोका हो' उनले भने, 'यो अपवित्र र प्रतिगमनकारी सम्झौता हो ।'

विगतमा मधेसी दलसँग भएको ८ बुदे सम्झौता अहिलेको मस्यौदामा नसमेटिएको भन्दै सभासद समेत रहेका यादवले चार दलका नेताले बनाउने संविधानमा मधेस र मधेसीको अधिकार नसमेटिने ठोकुवा गरे ।

कांग्रेस, एमाले, एमाओवादी र तिनका पछि लागेका  केही मधेसी दलका नेताहरुलाई मधेसबाट जनताले लखेटनुपर्ने बेला आइसकेको उनको भनाइ थियो ।

सदभावना पार्टीका केन्द्रीय सहअध्यक्ष एवम् सभासद लक्ष्मणलाल कर्णले अब बन्ने संविधानमा मधेसीका हकाधिकार सम्बोधन नरिए मधेसले काठमाडौंसँगको नाता तोड्ने चेतावनी दिए ।

'सर्वोच्चको फैसला गर्ने न्यायधीश गिरिशचन्द्र लाल, मधेसी भएकै कारण तीन दलका पहाडीया नेताहरुले मान्दैनौ भनेका हुन्', १६ बुँदे सम्झौता कार्यान्वयन नगर्न लागि सर्वोच्च अदालतले गरेको फैसला मान्दैनौ भनेर ठूला तीन दलका नेताले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सहअध्यक्ष कर्णले भने, 'यदि उनीहरुले फैसला मानेनन् भने भोलिका दिनमा पहाडीया न्यायाधीशले गरेको फैसला मधेशी जनताले पनि मान्दैनन् ।'

'जुन दिन न्यायाधीश गिरिशचन्द्र लाल माथि महाअभियोग लाग्छ', उनले भने, 'त्यही दिनदेखि हामीले मधेसमा पहाडीया नेता छिर्न दिन्नौं ।' चार दलले गरेको १६ बुँदे सम्झौता केवल सत्ता साझेदारीका लागि मात्र गरिएको भन्दै सह-अध्यक्ष कर्णले अहिलेको मस्यौदा मधेसविरोधी रहेको बताए ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम् सभासद लालबाबु राउत गद्धीले नयाँ  संविधानले मधेसीप्रतिको विभेद अन्त्य नगरे भारतबाट पाकिस्तान अलग भएजस्तै नेपालको पनि हालत त्यस्तै हुने चेतावनी दिए । कांग्रेस,एमालेले मधेस र परिवर्तन विरोधी संविधान जारी गर्ने षडयन्त्र गरिहरेको आरोप उनले लगाए ।

'चार दलबीचको १६ बुँदे सहमति केवल सत्ता साझेदारीका लागि मात्र हो', उनले भने, 'त्यसैले उनीहरुले फास्ट ट्रयाकको नाममा हतार हतारमा मधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरिरहेका छन् ।'

तराईमधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री जितेन्द्र सोनलले पनि विगतमा मधेसी दलसँग गरिएको ८ बुँदे सम्झौता अबको संविधानमा समेटिएन भने मधेसले काठमाण्डौसँगको सम्बन्ध तोड्ने चेतावनी दिए ।

चार दलका नेतालार्इ चेतावनी दिदै नेता सोनलले भने, ‘यदि तिमीहरुले आमाको दूध खाएका छौ भने अहिलेकै मस्यौदाको आधारमा संविधान बनाएर देखाउ ।'

'पहाडी दलका नेताहरुले मधेसप्रतिको रवैया नसुधारे मधेसका हरेक जिल्लामा गौरकाण्ड दोहोरिन सक्छ', उनले थपे  । यदि अहिलेकै मस्यौदाका आधारमा संविधान बने मधेसीहरु खस शासकहरुको दास नबन्ने उनको भनाइ थियो ।

कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध तरार्इ मधेस राष्ट्रिय सदभावना पार्टी, संघीय समाजवादी फोरम नेपाल , सदभावना पार्टी र तमलोपाका पर्सा, बारा र रौतहटका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

0 comments:

Post a Comment