Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 11, 2015

विराटनगरका युवाहरुको उदाहरणीय कार्य

विराटनगरका युवाहरुको उदाहरणीय कार्य

By: बी एन एन|विराटनगर, २१ असार : युवाहरु सकारात्मक काममा संगठित भए त्यसले समाजले मात्र हैन सिंगो देशले नै काँचुली फेर्न सक्छ । यस्तै एउटा उदाहरण विराटनगरका युवाहरुले प्रस्तुत गरेका छन् । विराटनगरस्थित कोशी राजमार्गअन्तर्गत भत्किएको झण्डै ३ किलोमिटर सडकखण्डको मर्मतसम्भारमा सरोकारवाला निकायले बेवास्ता गरेपछि युवाहरु आफैं सगठित भएर भत्किएको सो सडकको खाल्डाखुल्डी पुरेका छन् । सोमबार बिहानै १५ जना युवाहरुको एक समूह बालुवा–गिट्टी लोड गरिएको ट्रयाक्टरसहित हातहातमा तगारी र बेल्चा बोकेर विराटनगरको बरगाछीचोकमा जम्मा भए । उनीहरुले चोकको मूल सडकमा वारपार परेका खाल्डो पुर्न सुरु गरे । बरगाछीचोकको खाल्डो पुरिसकेपछि लगत्तै युवाहरुको सो समूह खाल्डाखुल्डी पुर्दै राजमार्गको उत्तरतर्फ लागे । उनीहरुले सो क्रममा बरगाछीचोकदेखि आयल निगमचोकसम्मको सडकखण्डमा परेको खाल्डाखुल्डी पुरे । कोशी राजमार्गमा सवारीको चाप बढ्दै गए पनि राजमार्गको अवस्था भने जीर्ण छ । सडक विस्तारको काम भइरहे पनि त्यो सम्पन्न हुन अझै समय लाग्ने देखिन्छ । राजमार्गको बीचबीचमै खाल्डो परेपछि त्यसक्षेत्रमा दैनिकजसो सडक दुर्घटना हुने गरेको छ । राजमार्र्गको अवस्था जीर्ण भएर आवागमनमा समस्या भइरहे पनि सरोकारवाला निकायले बेवास्ता गरेपछि आफूहरु एकजुट भएर राजमार्गको खाल्डाखुल्डी पुर्न जुटेको अगुवा युवा विवेक कर्णको भनाइ छ । आफूसमेत खाल्डाखुल्डीकै कारण दुर्घटनामा परेको उनको भनाइ छ । कोशी राजमार्गको उक्त क्षेत्रमा दैनिकजसो साना–ठूला दुर्घटना हुन थालेपछि सामूहिक रुपमा सडकको मर्मतमा जुटेको अर्का युवा अगुवा किरण लामाले बताए । आफूहरु बेग्लाबेग्लै राजनीतिक पृष्ठभूमिका भए पनि सामुदायिक हितका लागि एकजुट भएको उनीहरुको कथन छ । दुहबीका युवा ढुवानी व्यवसायी दिलीप चौधरीले राजमार्गको खाल्डो पुर्न आवश्यक पर्ने गिट्टी–बालुवा उपलब्ध गराएपछि युवाहरुलाई सहज भएको थियो । सडकको खाल्डाखुल्डी पुरिएपछि सडक प्रयोगकर्ताहरुले समेत युवाहरुको प्रशंसा गरेका छन् ।

नाविन कर्ण मकालु टि वि

0 comments:

Post a Comment