Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, July 30, 2015

जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास विराटनगरमा सुुरु

जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास विराटनगरमा सुुरु
by बिराट नगर न्युज
विराटनगर, १४ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मास बुधबारदेखि विराटनगरमा सुुरु भएको छ । चार महिनासम्म चल्ने चार्तुमासमा विविध धार्मिक कार्यक्रमहरु सञ्चालन हुनेछन् । विराटनगरको मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थसभा भवनमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच जैन गुरु आचार्य महाश्रमणले चातुर्मासको प्रारम्भ गर्नुभयो । सो अवसरमा उहाँले जैनमुनी तथा साध्वीहरुलाई धार्मिक अनुशासनको सपथग्रहण गराउनुभयो । उहाँले चार महिनाको चातुर्मासको अवधिमा जैनमुनी, साध्वी तथा श्रावकहरुले पालना गर्नुपर्ने नियमको विषयमा पनि जानकारी गराउनुभयो । महाश्रमणले यो अवधिमा एक गुरु एक विद्या, धारण गरेको बस्त्रबाहेक अन्य लिन नहुने, तत्वज्ञानमा ध्यान दिनुपर्ने, भिक्षा लिन जाँदा जैनबाहेककोमा पनि जानुपर्नेलगायतका कुरा स्मरण गराउनुभयो । उहाँले जैन धर्मालम्बी बाहेककोमा भिक्षा लिन जाँदा पनि मंगलपाठ गर्न, विद्युतीय उपकरण प्रयोग नगर्न र श्रावक पुरुषलेसमेत चातुर्मासका नियम पालना गर्न आग्रह गर्नुभयो । जैनमुनी तथा साध्वीहरु खासगरी वर्षायामका चार महिना एकै स्थानमा उपवास बस्ने, बाहिर हिंड्डुल नगर्ने र बिहानपख नजिकैको क्षेत्रका अनुयायी कहाँ गएपनि साँझ सधैं एकै स्थानमा विश्राम गर्ने गर्दछन् । वर्षायामको अवधिमा वनस्पति अग्लो हुने, लेउझ्याउ उम्रने, विभिन्न किसिमका घस्रने जन्तुहरु धेरै बाहिर निस्कने हुँदा हिंसा नहोस् भनेर एकै ठाउँ बस्नुपर्ने धार्मिक मान्यता छ । चातुर्मासको शुभारम्भ गर्ने क्रममा आचार्य महाश्रमणले चार महिनाको अवधिलाई सत्कर्म र तपस्यामा प्रयोग गर्न पनि अनुयानी, मुनी तथा साध्वीहरुलाई आग्रह गर्नुभयो । चातुर्मासमा सहभागी हुन भारतबाट ठूलो संख्यामा जैन अनुयायीहरु विराटनगर आइपुगेका छन् । अनुयायीहरुको बढ्दो आगमनलाई ध्यानमा राखेर थप व्यवस्थापनसमेत गर्न लागिएको चातुर्मास आयोजक समितिका अध्यक्ष मालचन्द सुरानाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment