प्रचण्ड र बाबुराम सार्वजनिक रूपमै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिए।
By बी एन एन|असार २७|प्रमुख प्रतिपक्षी एमाओवादीका नेताहरू सार्वजनिक रूपमै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आइतबार राष्ट्रिय नाचघरमा आयोजित 'राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान' कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच घोचपेच र आरोप प्रत्यारोप चलेको हो ।
दाहालले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको, कम्युनिस्ट पार्टी नै भन्न नमिल्ने भइसकेको उल्लेख गर्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुन सक्ने चिन्ता व्यक्त गरे । 'पार्टीभित्र गुटैगुट बन्ने क्रम चलेको छ, नेतापिच्छे गुट छन्, एउटै जिल्लामा आठवटासम्म समानान्तर कमिटी छन्, यो कम्युनिष्ट चरित्र होइन, बुर्जुवा चरित्र हो ।'
उनले नेता भट्टराईतर्फ संकेत गर्दै अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने, नयाँ पार्टी बनाउनुपर्छ भन्ने, तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै व्यंग्य गरेका थिए । केही दिनअघि भट्टराईले राजधानीमा आफ्नो गुटको छुट्टै भेला गरी सम्बोधनसमेत गरेका थिए ।
'हामीबीच कार्यदिशा र कार्यनीतिमा एकमत छ, सोह्रबुँदे पनि ठीक हो भन्ने, विचार सबै एउटै छ, अनि व्यवहारमा मात्रै किन फरक/फरक गुट बनाउँदै हिड्ने ?' दाहालको भनाइ थियो । उनले पार्टीमा भएको गल्तीको जिम्मा सबै नेताले हैसियतअनुसार लिनुपर्ने बताए ।
आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म ल्याइपुर्याएको उल्लेख गर्दै दाहालले एउटा कथामा आमा बुढो भएपछि मिल्काउन खोजेजस्तै आफूलाई पनि फाल्न खोजिएको हो कि भन्ने प्रश्नसमेत गरेका थिए ।
कार्यक्रममा भट्टराईले एमाओवादी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको बताउँदै नयाँ परिस्थितिअनुरूपको पार्टी निर्माण हुनुपर्नेमा जोड दिए ।
'प्रचण्ड र बाबुराम मिलेर अँगालो हालेरमात्रै अब पार्टी बच्न सक्दैन, यथास्थितिमा हाम्रो विनाश रोक्न सकिंदैन ।' उनले पार्टी रूपान्तरण हुने गरी रणनीति र कार्यनीति ल्याउन आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट मात्रै समाजवादतर्फको दिशामा अगाडि बढ्न सकिने बताए । 'महादेवले सतिदेवीको मरेको लाश बोकर हिडेजस्तै हिडेर अब पार्टी अगाडि बढ्न सक्दैन' भट्टराईले दाहालको नेतृत्व शैलीलाई व्यंग्य गर्दै भने ।
Sunday, July 12, 2015
प्रचण्ड र बाबुराम सार्वजनिक रूपमै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिए।
8:08 AM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment