Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

आफ्नै अध्यक्षलाई जुत्ताको माला लगाएर नेविसंघको जात्रा

आफ्नै अध्यक्षलाई जुत्ताको माला लगाएर नेविसंघको जात्रा
by:BNN|२९ असार, काठमाडौं । तस्वीरमा देखिने व्यक्ति कुनै चानचुने मानिस होइनन् । उनी माननीय सभासद एवं नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको केन्द्रीय अध्यक्ष रञ्जित कर्ण हुन् ।

कर्णलाई यसरी बिद्रूप बनाएर बेइज्यती गर्ने काम कुनै विपक्षी दल वा असन्तुष्ट जनताले गरेका होइनन् । उनलाई विप्लव समूहका माओवादी कार्यकर्ताले पनि यसो गरेका होइनन् ।

Ranjit-Karnaबरु, आफूलाई लोकतन्त्रको मसिहा बताउने कांग्रेसबाटै दीक्षित नेविसंघका कार्यकर्ताले आफ्ना नेतामाथि यस्तो व्यवहार प्रदर्शन गरेका हुन् । कांग्रेसको ६० वर्षे लोकतन्त्रको अभ्यासअन्तरगत भएको हो यो घटना ।

नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद कर्णलाई आफ्नै कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् । उनले संविधान नबनाएको झोंकमा कसैले जनकारवाही गरेको होइन । यो नितान्त आर्थिक लेनदेनको कुरालाई लिएर भएको यो घीनलाग्दो घटना पनि हो ।

पदमा लोभ गर्दाको परिणाम

पद भनेपछि छाड्नै हुँदैन भन्ने शिक्षा सुशील कोइरालाले नै सिकाएकै छन् । कोइराला पक्षका कर्णले पनि सभासद भएपछि नेविसंघको अध्यक्ष पदमा लिसोजस्तै टाँसिने काम गरे । उनले न संगठनको अधिवेशन गरे, न त अरुलाई नै नेतृत्व हस्तान्तरण गरे ।

यही क्रममा नेविसंघका कार्यकर्ताले कर्णको घरैमा गएर उनीमाथि आक्रमण गरे, कालोमसी दले, जुत्ताको माला भिराएर सडकमा निकाले । उनीहरुको आरोप छ कि कर्णले संगठनभित्रै पैसा खाने गरेकाले यसो गरिएको हो ।

यसरी भयो आक्रमण

हाँडीगाउँस्थित कर्णकै निवासमा पुगेका कार्यकर्ताले उनको अनुहारमा कालो मसी दलेका थिए । घटनापछि अनुहारमा कालोमसी र हातमा जुत्ताको माला लिएको अवस्थामा कर्णको तस्वीरसमेत खिचेर कार्यकर्ताले सार्वजनिक गरेका छन् ।

सभासद कर्णले अनलाइनखबरसँग कुरा गर्दै खुकुरी र रड बोकेर आएका नेविसंघकै कार्यकर्ताले शरीरमा कालोमसी छर्केर भागेको बताएका छन् । ‘उनीहरु खुकुरी र रड लिएर आएका थिए, त्यसबाट उम्कन सफल भएँ’ सभासद कर्णले-‘तर उनीहरुले कालोमसीजस्तो चिज छर्केर गए ।’

विवादको कारण पैसा

उनीहरुले आफूसँग पैसा मागेको र आफूले दिन सक्दिँन भन्दा घरमै आएर आक्रमण गरेको उनले बताए । तर, नेविसंघको असन्तुष्ट पक्षले भने कर्णले कार्यकर्ताबाट पैसा खाएको भन्दै विरोध जनाएका छन् ।

नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए । कार्कीको ठाउँमा अध्यक्ष कर्णले भुवन भट्टको नेतृत्वका अर्को कमिटी बनाएका थिए ।

भट्टबाट पैसा खाएर कर्णले कार्कीको कमिटी भंग गरेको उनीमाथि असन्तुष्ट पक्षको आरोप छ । कर्णले अरु ठाउँमा पनी यसैगरी पैसा खाएर कमिटी भंग गर्ने र आफ्ना मान्छे ल्याउने गरेको आरोप आरोप असन्तुष्ट पक्षको छ । तिनै असन्तुष्ट कार्यकर्ताले कर्णलाई मसी दलेको बताइएको छ ।

आफूले आक्रमणकारीविरुद्ध प्रहरीमा जाहेरी दिएको सभासद कर्णले अनलाइनखबरलाई बताए । कर्णले आफ्ना प्रतिद्वन्दी नेविसंघ नेता कुन्दन काफ्लेको नाममा समेत प्रहरीमा उजुरी दिएका छन् ।

नेविसंघका नेता कुन्दनले भने यो घटना असन्तुष्ट कार्यकर्ताबाटै भएको हुन सक्ने भन्दै कर्णलाई सभासद र नेविसंघको अध्यक्ष पदबाटै हटाइनुपर्ने माग गरे ।

कुरी कुरी !

आफ्नै पार्टीका नेता एवं सभादले गल्ती गरेको भए उनीमाथि कारवाही गर्ने लोकतान्त्रिक एवं कानूनी विधि यही हो त ?
लोकतान्त्रिक संस्कार बोकेको दाबी गर्ने नेविसंघका कार्यकर्ताले यसमा के जवाफ देलान् ?

यो घटनाले ……लाई भन्दा देख्नेलाई लाज भन्ने आहानको चरितार्थ गराएको छ । कांग्रेस पार्टीभित्रको झगडा अब फौजदारी कानून अन्तरगत प्रहरी कार्यालयमा पुगेको छ । अब यसले फेरि प्रहरीमा भनसुन र राजनीतिक दबावको रुप लिनेछ ।

अनलाइनखबर

0 comments:

Post a Comment