Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, August 18, 2015

मर्जरका लागि जोडी खोज्दै बैंक

By :बी एन एन |
"२०७२ भाद्र १|काठमाडौं: जनता बैंकले मर्जरका लागि सञ्चालक गुरुप्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ। मेगा बैंकले पनि मर्जरकै लागि उपयुक्त संस्था खोज्ने निर्णय गरेको छ।

नेपाल राष्ट्रबैंकले आगामी दुई वर्षभित्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि सञ्चालनमा रहेका एक दर्जन वाणिज्य बैंक मर्जरमा जान आन्तरिक तयारीमा जुटेका छन्। यस्तै विकास बैंक र फाइनान्स कम्पनी पनि मर्जरमा जान उपयुक्त संस्थाको खोजीमा छन्।

राष्ट्रबैंकले भदौ मसान्तभित्रमा बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको योजना अनिवार्य पेस गर्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँगको भेटपछि बैंकरहरू मर्जरका लागि उपयुक्त वित्तीय संस्था खोज्न थप तातेका छन्।

नेपाल बैकर्स संघका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ठूला बैंकलाई पुँजी बढाउन सम्भव भए पनि नयाँ मझौला बैंकलाई मर्जरमा गएर मात्र पुँजी बढाउन सकिने बताउँछन्। 'बोनस र हकप्रद सेयर जारी गरेर पुँजी बढाउने विकल्प भए पनि त्यो अनुपातमा मुनाफा बढ्ने सम्भावना छैन',उनले भने,‘ मर्जरमा जादाँ पुँजी वृद्धिसँगै व्यापार पनि आउँने हुँदा मुनाफा बढाउन समेत सहयोग पुग्छ।'

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणले पनि मुनाफाको वृद्धिदर उत्कृष्ट नरहेको देखिएको छ। यसले पुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई बाध्यकारी रूपमा मर्जर नै विकल्पका रूपमा देखिएको छ।

राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दा बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने घोषणासँगै मर्जर तथा एक्विजेसनलाई प्राथमिकता दिने बताएको थियो।करसँगको भेटमा पनि गभर्नर नेपालले पैसा हालेर पुँजी थप्न सम्भव नभएर मर्जर उपयुक्त विकल्प भएको बताएका थिए।

राष्ट्रबैंकले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने तथा संख्या घटाउने नीति लिए पनि यो सजिलो प्रक्रिया भने होइन। राष्ट्रबैंककै अनुसन्धानले पनि मर्जरमा कर्मचारी मिलान सबैभन्दा ठूलो समस्याको रुपमा देखाएको भन्दै एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'बोनस र हकप्रद सेयर हालेर पुँजी थप्न सम्भव छैन।

मर्जरमा धेरै समस्या छ। बाध्यकारी मर्जर वित्तीय स्थायित्वका लागि राम्रो हुँदैन।'राष्ट्रबैंकले मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनको प्रारम्भिक प्रतिवेदनले कर्मचारी मिलानलाई मर्जरको मुख्य समस्या मानेको छ।

'फरकफरक स्कुलिङबाट आएका वित्तीय संस्थाका कर्मचारी मिलेर काम गर्न समस्या छ' ,अध्ययनको प्रारम्भिक प्रतिवेदनमा भनिएको थियो,‘ तलब सुविधामा भएको फरकले पनि काम गर्ने वातावरण मिलाउन सहज नभएको पाइएको छ।'
नेपाल राष्ट्रबैंकले आगामी दुई वर्षभित्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछि सञ्चालनमा रहेका एक दर्जन वाणिज्य बैंक मर्जरमा जान आन्तरिक तयारीमा जुटेका छन्।
सञ्चालनमा रहेका वाणिज्य बैंकमा ग्रान्ड बैंक प्रभु बैंकसँग गाभिने अन्तिम तयारीमा छ। यस्तै नेपाल बंगलादेश (एनबी) र नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई एक आपसमा मर्ज गराउने तयारी राष्ट्रबैंकले गरेको छ।

विकास बैंक र फाइनान्स कम्पनी पनि आन्तरिक स्रोतबाट पुँजी वृद्धि गर्न नसकिने भन्दै मर्जरमा जान उपयुक्त वित्तीय संस्था खोज्न राष्ट्रबैंकका सम्बन्धित विभागका अधिकारीलाई समेत आग्रह गरेका छन्। वाणिज्य बैंकभन्दा विकास बैंक र फाइनान्स कम्पनीलाई पुँजी बढाउन चुनौती छ।

राष्ट्रबैंकका अधिकारी पुँजी वृद्धिको निर्णयले बैंक तथा वित्तीय संस्थाको संख्यात्मक संख्या घटाउन सहयोग हुने बताउँछन्। राष्ट्रबैंक सम्बन्ध स्रोतका अनुसार दुईवर्ष भित्रमा अहिलेको तुलनामा ५० प्रतिशत बैंक तथा वित्तीय संस्थाको संख्या घट्ने सम्भावना छ।

बैकर्स संघका उपाध्यक्ष शाह मर्जरमा जानको लागि दुई संस्थाबीच सेयर अनुपात मिलाउनु सबैभन्दा कठिन भएको बताउँछन्। 'सबैलाई आफ्नो संस्थाको सेयर मूल्य बढी भएको लाग्छ',उनले भने, 'पहिलो चरणमा बैंकका सञ्चालक र सेयरधनीलाई सेयर अनुपातमा सहमत गराउनु सबैभन्दा ठूलो चुनौती हुन्छ। मर्जरपछि कर्मचारी मिलान गर्नु अर्को चुनौती छ।'

राष्ट्रबैंकले गरेको अध्ययनले मर्जरमा सेयर अनुपात स्वतन्त्र मूल्यांकनभन्दा पनि बार्गनिङबाट तय गरिएको भन्दै वास्तविक मूल्य नआएको देखाएको थियो। "
-Source AP

0 comments:

Post a Comment