By: बी एन एन|भदौ १
इटहरी : लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव एक्कासी बढेको छ। पानीको सतहले खतराको बिन्दु छोएपछि रातो बत्ति बालिएको छ।
मंगलबार मध्यान्ह गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ७३ हजार ६४५ क्युसेक पुगेको छ। प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतराको संकेत मानिन्छ।दिउँसो पानीको सतह घट्दै गएको छ। यो वर्षकै यो उच्च विन्दु हो।
आसपासको क्षेत्रका बासिन्दालाई सतर्क बनाइएको छ। सप्त कोसीमा पानीको बहाव बढेसंगै यस क्षेत्रका सर्वसाधारण त्रसित छन्। बाढी आएर पानीको सतह बढे पनि भारतले ढोका खोल्न आनाकानी गरेको छ। ५६ ढोकामध्ये जम्मा २४ ढोका मात्रै खोलिएका छन्।
वर्षायाम सुरु हुनसाथ सप्तकोसी प्रभावित क्षेत्रका बासिन्दाहरु तीनमहिना सम्म रातभर जागै बस्नुपर्ने वाध्यता छ। भारतीय सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा भारतले आफु अनुकुलमात्र व्यारेजका ढोका खोल्ने गरेका कारण कोसी प्रभावित क्षेत्रका वासिन्दा त्रासमा रात विताउनु परेको स्थानियवासी बताउँछन्।
सप्तकोसी नदीबाट कुनै पनि अप्रिय घटना हुन नदिनका लागि जिल्लाप्रशासन कार्यालय सुनसरीलेतालीमप्राप्त सशस्त्र प्रहरीहरुलाई सुनसरीको महेन्द्रनगर क्षेत्र र भाण्टाबारी क्षेत्रमा तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी रविराज पन्तले बताए ।
सुनसरीका हरिपुर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, मधुवन, नर्सिङहा, प्रकासपुर, भोक्राहा, महेन्द्रनगर गाविस सप्तकोसीको बाढीको उच्च जोखिममा पर्ने भएकाले उक्त क्षेत्रका जनतालाई सचेत भएर बस्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोसीमा पानीको बहाव बढ्ना साथ विपद् पूर्वसुचना प्रणाली लागु गरेको छ। सप्तकोसीमा ५.६ मिटर गहिराई सतहमा पानीको पानीको बहाव आएपछि खतराको संकेत स्वरुप सर्बसाधारणलाई उच्च सर्तकता अपनाउन जानकारी गराउने र ६.८ मिटर गहिराइमा पानीको बहाव बढेपछि साइरन बजाएर सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गर्ने तयारीका साथ टोली परिचालन गरिएको प्रजिअ पन्तले बताएका छन् ।
Source -AP







0 comments:
Post a Comment