Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 28, 2015

बन्दकर्ता आफैँले बजार खोले

by:बी एन एन

बिहीबार १० भाद्र, २०७२
नेपालगन्ज– लगातार १६ दिनदेखिको बन्दले कष्टकर जीवन विताइरहेका बाँकेबासीले आन्दोलनरत पक्षले बन्द खुकुलो पारेपछि राहत महसुस गरेका छन्। संयुक्त रुपमा आन्दोलन गर्दै आएका मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले दुई दिनका लागि बजार, व्यापार, व्यवसाय र साना सवारी साधन सञ्चालन गर्न दिएपछि कष्टपुर्ण जीवन विताइरहेका सर्वसाधारणलाई राहत मिलेको हो।

थरुहट मधेस संयुक्त संघर्ष समितिले बिहीबार सर्वसाधारणको दैनिकीलाई मध्यनजर गर्दै दुई दिन (शुक्रबार र शनिबार) बजार, व्यापार, व्यवसाय र रिक्सा तथा मोटरसाईकल चल्न दिने निर्णय गरेको हो । पत्रकार सम्मेलन नै गरेर समितिले आफ्नो निर्णय सार्वजनिक गरेको छ । समितिले आइतबारबाट भने पुनः बन्दलाई निरन्तरता दिने जनाएको छ । संघर्ष समितिका प्रवक्ता पशुपति दयाल मिश्रले निर्णयबारे नागरिकसँग भने, 'सर्वसाधारणको दैनिकीलाई कष्टकर हुन नदिन दुई दिनका लागि सहज बनाएका हौं । शुक्रबार र शनिबार बजार, व्यापार, व्यवसाय र चार पांङ्ग्रे बाहेकका सवारी साधन चल्न दिनेछौं ।'

संघर्ष समितिका अगुवाले यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आन्दोलनलाई मर्यादित र शान्तिपुर्ण बनाउने, आन्दोलनमा बालबालिकाको प्रयोग नगर्ने लगायत कुरामा सहमती जनाएका थिए । संघर्ष समितिको निर्णय सार्वजनिक भएसँगै बिहीबार दिउँसोदेखि नै नेपालगन्ज, कोहलपुर, खजुरा बजारमा चहल पहल बढेको छ । लामो समय सम्म बजारमा निस्कन नपाएका सर्वसाधारणको उपस्थिती बाक्लो देखियो । उनीहरु अत्यावश्यक सामाग्री किनमेलमा व्यस्त देखिन्थ्ये । 'लामो बन्दपछि आज बजारमा किनमेल गर्न आएकी हुँ,' धम्बोझी निवासी संगीता अधिकारीले भनिन् 'यस्ता बन्द, हड्ताललाई त आन्दोलनरत पक्षले सधैका लागि बन्द गरे हुन्थ्यो ।'

बिहीबार नेपालगन्जका अधिकांस व्यापार, व्यवसाय सञ्चालनमा आउनुका साथै साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भीमकिरण बोगटीले बुधबार नेपालगन्जको जनजीवन सामान्य अवस्थामा फर्किएको बताए । 'जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ,' उनले भने 'आज बजार पुरै खुल्यो र साना सवारी साधन पनि धेरै चलेका छन् ।'

0 comments:

Post a Comment