Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 22, 2015

महिलाको सक्रियतामा झापामा बन्यो झोलुङ्गे पुल


by बी एन एन

झापा, ५ भदौ । झापाको बुधबारे १ मा महिलाको सक्रियतामा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । दामा खोलामा निर्माण भएका झोलुङ्गे पुलको झापा क्षेत्र नं ४ का सभासद् प्रेमबहादुर गिरीले शनिवार उद्घाटन गरेका छन् ।
जिविस र बुधबारे गाविसले तिन तिन लाख र जनश्रमदानबाट २ प्रतिशत रकम जुटेको थियो । त्यसमा बाँकी रकम हेल्भेटासले सहयोग गरेको थियो । पुल निर्माणमा कुल २८ लाख खर्च भएको निर्माण समितिले जनाएको छ ।
पुल उद्घाटन समारोहका प्रमुख अतिथि सभासद् गिरीले महिलाले निर्माण गरेको पुलबाट महिलापनि सक्षम छन् भन्ने प्रमाणित भएको बताए । उनले पुल निर्माण कार्य उदाहरणीय भएको बताए । उनले भने ‘यो प्रशंसनिय कार्य हो ।’
सभासद् गिरीले समाजमा विकासका लागि सर्वसाधारण नागरिकको प्रयास महत्वपूर्ण हुने बताए । उपभोक्ता र सर्वसाधारण जागरुक बन्न सके विकासले फड्को मार्ने सभासद् गिरीको भनाई थियो । उनले विकासलाई पार्टीगत दृष्टिबाट हेर्न नहुने बताए ।
त्यस्तै नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बाढीले पुलको पश्चिम क्षेत्रको वालमा क्षति पुग्न सक्ने भन्दै त्यसको संरक्षणका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा एकीकृत नेकपा माओवादीका पवन तिम्सिना, , बुधबारे गाविसका सचिव मोहनलाल पनेरु, सहारा नेपालकी पुष्पाञ्जली सिन्हा, कमला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दामाटार झोलुङ्गे पुल उपभोक्ता समितिकी अध्यक्ष यमुना चापागाईंले महिलाको सक्रियताबाट निर्माण भएको पुलले बषौं देखिको स्थानीयको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरिन् । उनले पुल निर्माण पछि स्थानीयलाई आवतजावत गर्न, बालवालिकालाई विद्यालय जान लगायत हरेक क्षेत्रमा फाइदा पुगेको बताइन् । मोटर साइकल समेत आवतजावत गर्न सक्ने गरी बनाइएको पुलकोे लम्बाइ ७५ मिटर रहेको छ ।
संस्थाकी सचिव गंगा आचार्यले सञ्चालन गरेको उपाध्यक्ष पद्मादेवी वजगाईंले स्वागत मन्तव्य गरेकी थिइन् ।

0 comments:

Post a Comment