Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

अर्को ठूलो भुकम्प आउने भुगर्भबीद को अर्कल, नेपालको पश्चिम क्षेत्र भूकम्पीय जोखिममै,

नेपालको पश्चिम क्षेत्र भूकम्पीय जोखिममै

by ब्रोड नेपाल न्युज (बी एन एन) काठमाडौं- वैशाख १२ मा ७.८ (स्थानीय मापनअनुसार ७.६) म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि वैज्ञानिक जगतमा केही प्रश्न उठेका छन्- 'म्याग्निच्युडअनुसार यसले किन धेरै क्षति पुर्याएन? जति शक्ति बाहिर आउनुपर्ने थियो, किन आएन?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले अध्ययन प्रतिवेदनमार्फत भनेका छन्, 'त्यतिबेला जति शक्ति बाहिर निस्कनुपर्ने थियो, त्यो निस्किएन, बाहिर ननिस्किएको शक्ति पश्चिम नेपालतिर गएको अनुमान गर्न सकिन्छ। यसले त्यस क्षेत्रको भूकम्पकीय जोखिम बढाएको छ।'

नेपालको भूकम्पबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले पछिल्लोपटक सार्वजनिक गरेको एउटा अध्ययनको निचोड हो यो। वैशाख १२ को भूकम्पको प्रकृतिलाई प्रमुख आधार मानेर बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक जिन–फिलिप अभोआकले नेचर एन्ड साइन्स जनरलमा आफ्नो अनुसन्धान प्रतिवेदन छपाएका छन्। उक्त प्रतिवेदन लेखनमा नेपालीसहित दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ता सहभागी थिए।

'त्यतिबेलाको भूकम्पको सबै शक्ति बाहिर निस्कन सकेन, जमिनभित्रै रह्यो। अझ त्यो पश्चिमतिर धकेलियो,' उनले जर्नलमा प्रकाशित लेखमा उल्लेख छ, 'यसले भविष्यमा ठूलो भूकम्पको खतरा बढाएको छ।' स्थानीय जिपिएस स्टेसनबाट प्राप्त तथ्यांकलाई आधार मानेर त्यस क्षेत्रमा शक्तिसञ्चय भएको अनुमान गरिएको हो।

अभोआकले यसलाई आधार मानेर पश्चिम नेपाल र भारतका केही क्षेत्रमा ठूलो भूकम्पको जोखिम कायमै रहेको उल्लेख गरेका छन्।

'यस क्षेत्रको धेरै अनुगमन र निगरानी गर्नुपर्ने अवस्था छ,' प्रतिवेदनमा भनिएको छ।

अभोआकको अध्ययन टोलीमा सहभागी भूकम्प मापन केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले गोरखादेखि पश्चिम भारतको देहरादूनबीचको क्षेत्रमा ५ सय वर्षयता ८ म्याग्निच्युडभन्दा ठूलो भूकम्प नगएकाले उक्त क्षेत्र बढी जोखिममा रहेको बताए।

'जिपिएस स्टेसनबाट प्राप्त तथ्यांकले यस क्षेत्रमा धेरै शक्तिसञ्चय भएको देखाएको छ,' उनले भने। नेपालमा यस्ता २९ वटा स्टेसन छन्। ती स्टेसन सुदूरपश्चिमका पहाडी जिल्लामा पनि स्थापना गरिएका छन् जहाँबाट शक्तिसञ्चयको अवस्था पत्ता लाग्छ।

वैशाख १२ को भूकम्प, त्यसको प्रकृति र पश्चिम क्षेत्रको अवस्थाबारे सूक्ष्म र विस्तृत अध्ययन गर्न त्यस क्षेत्रमा एडभान्स उपकरण जडान गर्नुपर्नेमा अन्य वैज्ञानिकले पनि जोड दिएका छन्।

वैशाख १२ गतेको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिका ठूला र साना अनुकम्पनबाट नेपालमा ९ हजारभन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते र घरबारविहीन भएका छन्।

प्राध्यापक अभोआकले सम्भावित भूकम्पले नेपालमा मात्र नभई भारतको उत्तरी क्षेत्रमा समेत क्षति पुर्यानउने आँकलन छ। 'त्यसैले यस क्षेत्रका सर्वसाधारण पूर्वतयारी र सचेत भएर बस्नुपर्छ। आफू बस्ने संरचना बलियो बनाउनुपर्छ,' उनले बिबिसीमार्फत सर्वसाधारणलाई सुझाएका छन्, 'ठूलो भूकम्पबाट बच्न कम्तीमा पनि साना भवन बनाउन सकिन्छ।' अभोआक आफू बसिरहेको जमिनमुनिको अवस्था र त्यहा" संग्रह भइरहेको शक्तिबारे जानकारी राख्नुपर्ने बताउ"छन्।

प्राध्यापक अभोआकले वैशाख १२ को भूकम्पले निकै कम मानवीय क्षति गरेको प्रतिक्रिया दिएका छन्। 'भूकम्प गएको सुन्दा यसले तीनदेखि ४ लाख मानिसको मृत्यु हुने भयो भन्ने लागेको थियो। काठमाडौंनजिकै गएको भूकम्पले पनि निकै कम सर्वसाधारणको ज्यान गयो,' उनले बिबिसीलाई भने।

वैज्ञानिकका अनुसार भारतीय प्लेटोले हरेक वर्ष दुई सेन्टिमिटरका दरले युरोसियन प्लेटोलाई धक्का दिइरहेको छ। नेपाल पूरै र भारतको उत्तरी क्षेत्र यी दुई प्लेटो गतिविधि भइरहने स्थानमा पर्छ। जहा" सधै भूकम्पीय गतिविधि भइरहन्छन्।

दशकौंदेखि काठमाडौंनजिकैको दरार क्षेत्रमा धेरै शक्ति सञ्चय भइरहेको निष्कर्ष पनि अनुसन्धानबाट आइरहेको छ। केही वैज्ञानिकले यसअघिदेखि नै पश्चिम नेपालमा प्लेटोहरु एकापसमा 'लक' भएर बसेको र त्यस क्षेत्रमा ५ सय वर्षयता ८ म्याग्निच्युडभन्दा ठूला भूकम्प नगएकाले जोखिम बढी भएको बताउँदै आएका थिए।

पछिल्लोपटक ठूलो भूकम्पको सम्भावना बढाउने अर्को आधार वैशाख १२ को भूकम्पमा बाहिर ननिस्किएको शक्ति पश्चिमतर्फ धकेलिनुलाई मानिएको छ।

सन् १५०५ मा त्यस क्षेत्रमा ८.५ म्याग्निच्युडको भूकम्प गएको अनुमान गरिएको थियो। पा"च शताब्दीमा संग्रह भएको शक्तिले त्यस क्षेत्रमा थप तनाव सिर्जना गर्न सक्ने अनुमान वैज्ञानिकहरुको छ। तर सन् १५०५ पछि त्यस क्षेत्रमा ८ म्याग्निच्युडभन्दा साना तर शक्तिशाली भूकम्प भने गएका छन्।
-Nagariknews

0 comments:

Post a Comment