Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, August 19, 2015

बन्दको विरोधमा सडकमै पढाइ

by बी एन एन

भाद्र ३ , - नौ दिन लामो बन्दले आजित भएका दाङका विद्यार्थीहरु बुधबार दिउँसो बन्दको बिरोधमा सडकमै आएर पढेका छन् ।

घोराहीको तुलसीपुर चोकमा जम्मा भएका विद्यार्थीले विद्यालयलाई बन्दबाट टाढै राख्न माग गर्दै सडकमै अध्ययन गरेका हुन् । विद्यालय पोशाक र कापी किताब बोकेर आएका विभिन्न विद्यालयका विद्यार्थीहरुले विद्यालयलाई शान्ति क्षेत्र कायम राख्न माग गरे ।

विद्यालयलाई सुरक्षा दिएर भएपनि अध्ययन गर्ने वातावरण बनाउनुपर्ने पद्मोदय पब्लिक उच्च माविमा ११ कक्षा अध्ययनरत बेदव्यास पोख्रेलले बताए । लामो समयसम्म विद्यालय बन्द भएपछि बाध्य भएर सडकमा आएको पद्मोदयकै अर्का विद्यार्थी विक्रम खनालले बताए ।

विभिन्न नाममा हुने बन्दले बालबालिकाको भविष्य संकटमा परेको माउण्ट भ्यू स्कूलमा १० कक्षा अध्ययनरत बिमल अधिकारीले बताए । बन्दका कारण अहिले पठनपाठन प्रभावित हुने र पछि दोष शिक्षकहरुलाई आउने गरेको पद्मोदय स्कूलका शिक्षक दुर्गाप्रसाद पाण्डेले बताए ।

लामो समय विद्यालय बन्द हुने कुराप्रति राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए । विद्यार्थी नेता प्रशान्त ओलीले विद्यालय बन्दको विकल्प खोज्नुपर्ने धारणा राखे ।

साउन २६ देखि भएको थरुहट संघर्ष समितिको बन्दले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । संयुक्त मधेशी मोर्चाको बन्दमा त्यसमा थपिँदा झनै समस्या उत्पन्न भएको छ ।

यातायात, शैक्षिक संस्था, उद्योग व्यवसाय ठप्प छन् । सडकमा बन्दकर्ता नभए पनि आह्वान गरेकै भरमा सबै क्षेत्र बन्द भएका छन् ।

0 comments:

Post a Comment