Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 17, 2015

साझा बस चढ्दा नगद पैसा बोक्नु नपर्ने !

साझा बस चढ्दा नगद पैसा बोक्नु नपर्ने !

By:बी एन एन| काठमाडौं, भदौं १

साझा यातायातको बसभाडा तिर्नका लागि उपभोक्ताले अब खल्तीमा नगद पैसा बोक्नु नपर्ने भएको छ। तर यसका लागि पहिले १ सय ५० रुपैयाँको डिजिटल कार्ड भने किन्नुपर्ने छ। सो कार्डबाटै भाडा तिर्नुपर्ने नियम साझा यातायातले बनाउने तयारी गरेको छ।
कार्डबाटै भाडा भुक्तानी गर्नका लागि नेपालमै पहिलो पटक यस्तो व्यवस्था थालनी हुन लागेको हो। यदि यसको परीक्षण सफल भई कार्यान्वयनमा आएमा यातायातको दुरीअनुसारको भाडामा एकरुपता आउने तथा यात्रु पनि ठगिनबाट जोगिने छन्। यसले नियमित यात्रुहरुका लागि झनै फाइदा पुग्ने देखिन्छ।
नेपाल बैंकको सहकार्यमा यस्तो डिजिटल कार्ड प्रयोगमा ल्याउन लागिएको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। कार्डको परीक्षण सुरु भएको समेत उनले बताए। यसका लागि उपभोक्ताले पहिला साझाको सो डिजिटल कार्ड किन्नुपर्दछ। १ सय ५० रुपैयाँमा डिजिटल कार्ड किनेपछि सो कार्डमा आफूले जति रकम हाल्न चाहेको हो, त्यति रकम व्यालेन्सका रुपमा राख्न पाउँछन्।

पाण्डेका अनुसार साझा यातायातको पछाडि र अगाडिको ढोकामा २ वटा मेसिन राखिनेछ। ति मेसिनहरुमा कार्ड देखाएपछि स्वतः भाडा काटिनेछ। बसमा चढ्ने बेला पछाडिको ढोकामा रहने मेसिनमा कार्ड देखाउने र झर्ने बेलामा अगाडिको ढोकामा रहेको मेसिनमा कार्ड देखाएपछि यात्रुले कति किलोमिटर यात्रा गर्यो, कार्डबाट सो अनुसारको भाडा काटिने उनले बताए।
उनका अनुसार यदि चढ्दाखेरि मेसिनमा कार्ड देखाएर झर्ने बेलामा कार्ड नदेखाउने हो भने पनि कार्डबाट अधिकतम भाडा २० रुपैयाँ काटिनेछ। त्यस्तै विद्यार्थीहरुका लागि पनि यो कार्डबाटै आधा छुट हुनेगरी भुक्तानीको व्यवस्था हुनेछ।
हाल काठमाडौं उपत्यकामा २ रुटमा १६ वटा साझा यातायातका बसहरु सञ्चालनमा छन्।
नयाँ बसपार्क–चक्रपथ–लाजिम्पाट–जमल–शहिदगेट–त्रिपुरेश्वर–पुल्चोक हुँदै लगनखेलसम्म र लगनखेलबाट सोही रुट हुँदै नयाँ बसपार्कसम्म १० वटा बसहरु सञ्चालनमा छन्। त्यस्तै स्वयम्भू–कलंकी–त्रिपुरेश्वर–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म पुग्ने र सोही रुट हुँदै फर्किने ६ वटा वसहरु सञ्चालनमा छन्।
दोस्रो रुटमा भन्दा पहिलो रुट (नयाँ बसपार्क–लगनखेल)को रुटमा आम्दानी बढी हुने गरेको पाण्डेले जानकारी दिए। यद्यपी वस सेवा सञ्चालनबाट नाफा नरहेको तर नोक्सान पनि धेरै नभएको उनको भनाई छ। ‘हामीले नाफाभन्दा पनि सेवालाई जोड दिएरै साझा यातायात सञ्चालन गरेका हौँ,’ उनले भने।
हाल सञ्चालनमा रहेका साझा बसहरुमा ड्राइभरसहित ५५ सिट क्षमता रहेको छ। बसभित्र कुनै अवाञ्छित गतिविधि नहोस् भन्नका लागि सिसिटिभी पनि राखिएको छ। साझा वसमा यात्रा गर्ने यात्रुलाई मनोरञ्जन प्रदान गर्नका लागि टेलिभिजन पनि राखिएको छ।
पछाडि ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्ने व्यवस्था रहेकाले भीडभाडमा पनि यात्रुहरुलाई अन्य सवारीसाधनमा भन्दा सहजता भएको छ। वि.सं. २०१८ सालदेखि नै नेपालमा साझा यातायातको स्थापना भएको मानिन्छ। त्यसपछि २०५८ सालमा यसको सेवा बन्द भयो। पछि २०६९ सालमा पुनः १६ वटा नयाँ बस खरिद गरी सेवा सुरु भएको हो।
११ वर्षसम्म विशेष प्राविधिक कारणले बन्द रहेको साझा यातायातले पछिल्लो पटक सर्वसाधारणको मन जित्न सफल भएको छ। यही कारणले अन्य ठूला सिटी बसहरु पनि थप्ने तयारी साझाले गरेको छ। यस सम्वन्धमा महानगरपालिकाको सेयर हुनेगरी सम्झौता भइसकेको छ। २५ देखि ३० वटा ठूला सिटी बसहरु थपिने साझाले जनाएको छ।

0 comments:

Post a Comment