Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

राष्ट्रपतिको नामसमेत थाहा छैन यी सभासद् ।

राष्ट्रपतिको नामसमेत थाहा छैन यी सभासद्लाई
(जनचेतना का लागि कृपया शेयर गरौ साथीहरु)

By: ब्रोड नेपाल न्युज (बी एन एन) ___________________________
समानुपातिक निर्वाचन प्रणालीले देशमा विचित्र विचित्रका सभासद् पैदा गरिरहेको छ । संविधान निर्माणजस्तो जटिल दायित्व निर्वाह गर्ने जिम्मेवारी बोकेका थुप्रै सभासद्मा संविधानको विज्ञता त छाडौँ आधारभूत ज्ञानसमेत पाइँदैन । त्यसमा पनि केही सभासद् त पराकाष्ठा नै छन् ।

देशको राष्ट्रप्रमुखको समेत नाम थाहा नभएका व्यक्ति सभासद् छन् भनेर पत्याउन गाह्रै पर्छ । तर, राप्रपा नेपालकी सभासद् श्रीकान्ती पासीलाई न देशको राष्ट्रप्रमुखको नाम थाहा छ, न सरकारप्रमुखको । संविधान लेख्न कस्सिएर पहिलोपटक कपिलवस्तुबाट काठमाडौं आएकी यी ‘पानवाली’लाई संविधान भनेको के हो भन्ने नै थाहा छैन । तर, आफू संविधान बनाउन आएकी हुँ भन्नेचाहिँ थाहा छ ।

राप्रपा नेपालकै एक नेतामार्फत सम्पर्कमा आएकी पासीमा राजनीतिको सामान्य ज्ञान पनि नभएको पाइयो । अन्तर्वार्ताका लागि उनको मोबाइल नम्बरमा सुरुमा सम्पर्क गर्दा पासीले कुराको मेसो पाइनन् र सँगै रहेका एक पुरुषलाई फोन दिइन् । ती पुरुष पासीसँग एउटै फ्ल्याटमा बस्ने अर्की सभासद् धानु महराका पति रामआशिष महरा रहेछन् । उनले नै अन्तर्वार्ताको समय मिलाइदिए ।

तोकिएको समयमा मैजुबहालस्थित उनको फ्ल्याटमा फोटोपत्रकार सतिश पोखरेलसहित पुगियो । ढक्ढकाएको निकैबेरपछि मात्रै ढोका खुल्यो । ढोका खोल्ने उनै सभासद् पासी रहिछन् । उनले हामीलाई नियालेर हेरिन्, तर केही बोलिनन् । हामीले आफूहरू पत्रकार भएको र अन्तर्वार्ताका लागि आएको बताउँदा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । कुरा नबुझेको महसुस गरेर हामीले भन्यौँ, ‘तपाईंको फोटो खिच्न आएको, पत्रिकामा छाप्न ।’

तैपनि उनले भित्र जान आग्रह नगरेपछि हामी आफैँ अगाडि लाग्यौँ । सो फ्ल्याटमा चार कोठा रहेछन् । हामी पसेको कोठाभित्र एक थान बेड थियो भने एक छेउमा केही धार्नी आलु बिस्कुन लगाइएको थियो । गाउँबाट ल्याइएका चामल, तेललगायत अन्य सामग्री पनि थिए । पासीले उभिएर फोटोका लागि पोज दिइन्, पहिलोपटक हाँसिन् दाँत देखाएर ।
सोही फ्ल्याटमा बस्ने राप्रपा नेपालकै अर्की सभासद् धानु महराको प्रवेश भयो । उनी अलि टाठी देखिन खोज्दै थिइन् । क्यामरा देखेपछि उनलाई के लाग्यो कुन्नि, सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धी जसरी क्यामराअघि हात जोड्दै आफ्नो परिचय दिन थालिन् । ‘नमस्कार, म धानु महरा । घर सिन्धुली । राप्रपा नेपालकी सभासद् । अहिले संविधान लेख्न काठमाडौं आएकी छु…।’ धानुको ‘सक्षिप्त परिचय कार्यक्रम’ सकियो । यतिन्जेलमा कोठाभित्र अरू एक–दुईजना थपिएका थिए ।

अब सुरु भयो पासीको अन्तर्वार्ता । पहिलो प्रश्न सोधियो, ‘तपाईं राजनीतिमा कसरी आउनुभयो ?’ उनको मुख खुलेन । ‘तपाईं संविधानसभामा के–के एजेन्डा लैजाँदै हुनुहुन्छ ?’ दोस्रो प्रश्नमा पनि पासी बोलिनन् । तपाईंलाई नेपालका राष्ट्रपतिको नाम थाहा छ ? बल्ल मुख खोलिन्, ‘थाहा छैन ।’ अनि प्रधानमन्त्री र मन्त्रीहरू कतिजनाको नाम थाहा छ ? उनले ‘कसैको पनि थाहा नभएको’ बताइन् ।

पासीलाई आफ्नो पार्टीको नाम भने कण्ठ रहेछ । कुन पार्टीबाट सभासद् हुनुभएको हो भन्ने प्रश्नमा तत्कालै भनिन्, ‘राप्रपा नेपाल ।’ त्यसपछि फेरि ‘थाहा छैन’ शृंखला सुरु भयो ।

राप्रपा नेपाल पार्टीका एजेन्डा केके छन् ?
थाहा छैन ।

नेपालमा संघीयता कस्तो हुनुपर्छ ?
थाहा छैन ।

संघीयता भनेको के हो ?
थाहा छैन ।

संविधानसभामा के मुद्दा उटाउनुहुन्छ ?
थाहा छैन ।

अत्यन्तै निर्दोष शैलीमा सभासद् पासी प्रस्तुत भइन् । उनको अनुहार विद्यालयमा शिक्षकले सोधेको प्रश्नको जवाफ नजानेर नर्मस भएको विद्यार्थीको जस्तो देखियो । त्यसपछि प्रश्न अन्यत्र मोड्न बाध्य भयौँ ।

पासी कपिलवस्तुको पसर्निया गाविसस्थित आमलोनाहामा पानपसल चलाउँथिन् । राम्रै चलेको थियो उनको व्यवसाय । तर, तीन महिनादेखि पानपसल बन्द छ । अचानक राप्रपा नेपालले सभासद्मा सिफारिस गरेपछि उनले पानपसल खोल्न छाडेकी हुन् ।

समानुपातिकबाट सभासद्मा छनोट भएको थाहा पाएर गत ३ माघमा नाइट बस चढी काठमाडौं आइन् । राजधानीमा उनको यो पहिलो आगमन थियो । बसपार्कमा ओर्लेर सोध्दै खोज्दै धुम्बाराहीस्थित राप्रपा नेपालको पार्टी कार्यालय पुगिन् । त्यो साँझ गौशालाको एक होटलमा बसिन् । त्यसपछि अर्की सभासद् धानुले मैजुबहालमा पहिल्यै लिएको फ्ल्याटमा बस्न थालिन् ।

काठमाडौं आएपछि उनी राप्रपा नेपालले गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन तीन दिन धानुसँगै सिंहदरबार पनि गइन् । उनीसँगै गत माघ ७ र ८ गते संविधानसभा भवन पुगिन् । तर, काठमाडौंका धेरै ठाउँ उनका लागि अझै अपरिचित नै छन् । आफू बसिरहेको ठाउँको नाम पनि भन्न सक्दिनन् । नयाँ ठाउँ जानुपर्‍यो भने हिँडेर सोध्दै जान्छिन्, गाडी चढ्दा हराइन्छ भनेर ।

सभासद् हुने कुरा पासीको कल्पनाभन्दा टाढा थियो । ‘सभासद् भएपछि निकै खुसी भएकी छु,’ उनले भनिन् । माओवादी जनयुद्धमा विद्रोही पक्षबाट उनको दाजुको हत्या गरिएको थियो । उनका दाजु राप्रपा नेपालसँग आबद्ध थिए । त्यसैले पहिलेदेखि नै उनले राप्रपा नेपालको नाम सुनेकी थिइन् । अघिल्लो संविधानसभाको चुनावमा उनी राप्रपा नेपालको जुलुसमा खुब हिँडिन् । केही दिन पानपसल बन्दै गरेर उनी खटिइन् ।
काठमाडौं आउनुभन्दा पहिले उनले दुईपटक राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेकी थिइन् । काठमाडौं आइसकेपछि गत ८ माघमा कमल थापालाई भेट्न उनी थापानिवास विशालनगर गइन् ।

कपिलवस्तु–३ मा राप्रपा नेपालबाट प्रत्यक्ष चुनाव लडेकी विजय लक्ष्मी सिंहको सिफारिसमा उनलाई राप्रपा नेपालले दलित महिला कोटाबाट समानुपातिकको बन्दसूचीमा राखेको थियो । चुनावका वेला पासी सिंहको प्रचारमा खटिइन् । सिंह प्रत्यक्षमा चुनाव हारिन्, तर पासी समानुपातिकबाट सभासद् भएकी छिन् । ४३ वर्षीया पासीका छोराछोरी छैनन् । अब राजनीति नछोड्ने मनस्थिति उनको छ ।

प्रस्तुति : भुवन शर्मा
तस्बिर : सतिश पोखरेल
श्रोत: नया पत्रिका

(जनचेतना का लागि कृपया शेयर गरौ साथीहरु)

0 comments:

Post a Comment