Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 16, 2015

आफूमाथिको हमलाबारे यस्तो छ ऋषि धमलाको बयान

By : बी एन एन| काठमाडौं |नेकपा–माओवादी, मधेसवादी र जनजातीले आह्वान गरेको २ दिने बन्दको प्रभाव बिहानैदेखि आंशिक रुपमा काठमाण्डुमा पनि परेको थियो । बन्दकर्ताले मुलुकका विभिन्न स्थानमा सवारी साधानमाथि आक्रमण गरेको र बन्द गराउँदै हिँडेका कार्यकर्ताहरु पक्राउ परेका समाचारहरु पनि आइरहेका थिए ।
बन्दकर्ताले यसअघि पनि अत्यावश्यक सेवाका सवारीलाई निर्वाद चल्न दिने बताउँदै आएका छन् । तर आम हड्तालका समर्थकले सडकमा गुड्ने प्रेस, एम्बुलेन्स वा अन्य अत्यावश्यक सेवाका सवारीमा तोडफोड गर्नु यो नौलो घटना होइन ।
एउटा सञ्चारकर्मी भएको नाताले म जनतालाई सुसुचित गर्न बिहानै आफ्नो नियमित काममा लागेँ । बिहान ६ देखि ७ बजेसम्म नेपालवाणी एफएम नेटवर्कमा वाणी बहस सञ्चालन गरेर म घर फर्कने क्रममा थिएँ ।
म शहरका विभिन्न स्थानमा बन्दको प्रभाव कस्तो परेको छ भन्ने रिर्पोटिङ पनि गर्दै घर जान लागेको थिएँ । अनामनगरबाट न्यूप्लाजा हुँदै भद्रकालीतर्फबाट सुन्धारा पुगेपछि केही बन्दकर्ता बाटोमा देखिए ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा जुलुस आइरहेको थियो । मेरो अगाडि अक्सिजन बोकेको टाटामोबाइल थियो । त्यो गाडीलाई अवरोध नगरी अघि बढ्न दिएपछि ड्राइभरले मेरो गाडि पनि बिस्तारै अघि बढायो । तर, आन्दोलनकारीले म चढेको देख्ने बित्तिकै रड र इटाले प्रहार गर्न थाले । म हतार हतार गाडीबाट बाहिर निस्किएँ । त्यतिबेरमा मेरो गाडीको अगाडिको भागमा पूरै क्षति भइसकेको थियो । यो घटना हुँदा बिहान साढे सात बजेको थियो ।
म सञ्चारकर्मी, परिचय दिँदा दिँदै पनि उनीहरुमध्ये केहीले मलाई समाते र केहीले म चढेको बा ५ च ४७७८ नम्बरको गाडीमा तोडफोड गरे । मलाई आक्रमण गरेको देख्ने बित्तिकै प्रहरीले गाडीमा प्रहार गर्ने केटाहरुलाई नियन्त्रणमा लियो ।
कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएपछि तिनीहरुलाई छुटाउन संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मलाई दवाव दिए । तर, मैले बन्दकर्तालाई छुटाउन नसक्ने बताएपछि मलाई नै आक्रमण गर्ने चेतावनी दिए ।
आन्दोलन गर्न जम्मा भएका अधिकांस नेता तथा कार्यकर्ताले मलाई चिनेका थिए । तर, श्रेष्ठले जनजातीको आन्दोलन निस्तेज पार्न आएको भन्दै मेरो विरुद्धमा नाराबाजी गरे । श्रेष्ठकै निर्देशनमा मेरो गाडीमाथि आक्रमण भएको थियो ।
म पत्रकार भएकाले सबै नेताहरुसँग हिमचिम र संगत हुनु स्वभाविक हो । तर, उनीहरुले उनीहरुका गतिविधिका समाचार नदिएको भन्दै मलाई आक्रमण गर्ने योजना नै बनाएका रहेछन् ।
प्रहरीले भीडलाई तितरबित्तर पारेपछि म वीर अस्पतालमा गएर टाउकोमा लागेको चोटको उपचार गराएँ । समाचार प्रकाशन र प्रसारण नगरेको भन्दै मलाई आक्रमण गरेर प्रेस स्वतन्त्रतामाथि खेलवाड गर्ने प्रयास भएको छ । ममाथि भएको हमला सिंगो पत्रकारितामाथि कै हमला हो । आन्दालनकारीले गाडी फुटाउँदैमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदैन ।

0 comments:

Post a Comment